रामेछाप । हलेदे–धोबी, सिरिसे–ढाडे सडकको कालोपत्रे गर्न लिखुतामाकोशी गाउँपालिका अध्यक्ष केशव महतले बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामालाई आग्रह गरेका छन् । रामेछाप जिल्लाको रणनीतिक सडकको रूपमै महत्त्वपूर्ण मानिएको हलेदे–धोबी, सिरिसे–ढाडे सडक हाल सम्म अलपत्र अवस्थामा रहेको भन्दै कालोपत्रे गर्न बजेट विनियोजन गर्न आग्रह गरेका हुन् ।
गाउँपालिका अध्यक्ष महतले आइतबार बागमती प्रदेका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामालाई सडकको स्थलगत अवलोकन समेत गराएका छन् । महतले स्थलगत अवलोकन पछि झन्डै गाउँपालिकाको केन्द्र निस्कन किलोमिटर बाटो कालोपत्रे हुन बाँकी रहने भन्दै तत्काल सम्बोधन गरिदिन आग्रह गरेका हुन् । आफू र आफ्ना पालिकाका नागरिकले दैनिक कष्टकर यात्रा गर्न बाध्य भएको भन्दै यो आर्थिक वर्ष भित्र सम्बोधन गरिदिन मन्त्री लामालाई आग्रह गरेका हुन् । सडक कालोपत्रेका लागि लिखुतामाकोशी गाउँपालिकाले गत वर्ष पालिकाको विकास बजेट अन्यत्र कटाएर एक एकमुष्ट पाँच करोड यही सडकलाई छुट्टाएको र वाग्मती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले बहु वर्षीय योजना अन्तरगत २० करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए । गाउँपालिकाको ५ करोड बजेटबाट एक हजार ८०० मिटर र प्रदेश सरकारको २० करोड बजेटबाट साढे ६ किलोमिटर सडक विस्तारको काम भइरहेको महतले जानकारी दिए ।
गाउँ पुगेका प्रदेश अर्थमन्त्रीलाई स्थानीय अगुवाले पालिकाको बस्तु स्थितिका बारेमा जानकारी गराउँदै सडक र खानेपानीको विकासमा जोड दिन अनुरोध गरेका छन् । अर्थमन्त्री समक्ष कुरा राख्दै गाउँपालिका अध्यक्ष केशव महतले जिल्लाबाट विभिन्न कालखण्डमा जिल्लाका व्यक्ति पहुँचमा र नेतृत्वमा पुग्दा पनि लिखु तामाकोसी गाउँपालिकाको उक्त सडक अझै पनि सुधार हुन नसकेको बताए । एक प्रदेशबाट छिमेकी अर्को प्रदेश जोड्ने सडक पनि भएकाले यसको सुधार अनिवार्य रहेको अध्यक्ष महतले बताए ।