रामेछाप । खाँडादेवि गाउँपालिकाको सित्खा, भिरपानी हुँदै गोगनपानी जाने सडकको कालोपत्रे गर्ने जिम्मा लिएका निमार्ण व्यवसायीले गुणस्तरहिन सामाग्री प्रयोग गरेका कारण निमार्णकै क्रममा सडक भत्किएपछि व्यवसायीलाई दिने भुक्तानी रकम गाउँपालिकाले रोक्ने भएको छ ।
पालिका भित्र निमार्ण भएको सडक निमार्ण व्यवसायीले सम्झौता अनुसारको सामाग्री प्रयोग नगरी कमसल सामाग्री प्रयोग गरेकाले निमार्णको क्रममा नै सडक भत्किएको भन्दै खाँडादेवी गाउँपालिकाले तत्काल व्यवसायीलाई भुक्तानी नदिन बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पत्राचार गरिएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमवहादुर तामाङ्गले जानकारी दिए ।
उनले भने– सडक निमार्णको क्रममा व्यवसायीले अन्यन्तै गुणस्तरहिन सामाग्री प्रयोग गरेको पायौं । जसका कारण सडक निमार्ण भएको एकहप्ता नवित्दै सडक भत्किन शुरु गरेको छ । स्थानिय नागरिकहरुले सडकमा कमसल सामाग्री प्रयोग गरेको भन्दै व्यवसायीको चर्को आलोचना गरेका थिए । पछि गाउँपालिकाले जिल्ला समन्वय समितिको रोहवरमा अनुगमन समेत गर्याौ । अनुगमनको क्रममा गुणस्तरहिन सामाग्री प्रयोग गरेको पायौं । व्यवसायीलाई पटक–पटक सचेत गराउँदा समेत नमानेकाले भत्किएको सवै संरचना निमार्ण गर्नुपर्ने र वाँकी काम गुणस्तरयुक्त नभएसम्म मन्त्रालयले दिने सबै रकम तत्काल रोकिदिन गाउँपालिकाले निर्णय गरेर मन्त्रालय पठाएको अध्यक्ष तामाङ्गले बताए ।
बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत २३ करोड ७४ लाख ३४ हजार ८ सय २७ रुपैयाँको लागतमा भिरपानीको सित्खा हुँदै खाँडादेबि गाउँपालिकालको केन्द्रसम्म जाने उक्त सडक कालोपत्रे गर्न जिम्मा लुम्बिनी आत्रेय जेभीले पाएको थियो । सडक निमार्णको क्रममा निमार्ण व्यवसायीले अन्ततै कमसल सामाग्रीहरु प्रयोग गरेपछि निमार्ण भएको एक हप्ता नबित्दै सो सडक भत्किन शुरु भएको छ ।
सडक निमार्णको क्रममा व्यवसायीले स्थानिय गाउँपालिकाका प्रतिनिधिहरुको आँखा छल्दै सबबेस र बेस राख्ने क्रममा त्यहीँ सडक खन्दा निस्किएको माटो प्रयोग गरेको र त्यहीँ माटो माथि नै अलकत्रा छर्किएर कालोपत्रे गरेका छन् । यसरी गरिएको कालोपत्रे तीनदिनमा नै उक्किन लागेको छ भने सडकको छेउमा निमार्ण गरिएको नाला समेत भत्किएको खाँडादेवी गाउँपालिका वडा नं–३ भिरपानीका अर्जुन खड्काले जानकारी दिए ।
उनले भने– हामीले सडकमा प्रयोग भएका सवै सामाग्रीहरु कमसल छन् भनेर पटक–पटक गाउँपालिका र जिल्ला समन्वय समितिमा समेत कुरा गर्यौ । तर हाम्रो कुरा सुनुवाई नै भएन । हामीले जानकारी गराएपछि पालिकाका प्रमुहरु आएर एक÷दुई पटक अनुगमन गरे जस्तो गरेर फर्किए । व्यवसायीले भने आफ्नै शुरुमा काम गर्दै गए । निमार्ण गरेजति सवै सडक अत्यन्तै कमजोर छ खड्काले बताए ।