सिन्धुली, असार ७ — सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि तयार पारेको नीति तथा कार्यक्रम शनिबार १७औँ गाउँसभामार्फत सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष शंकर राज बरालले गाउँसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विविध क्षेत्रलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो।
यस वर्षको नीति तथा कार्यक्रममा कृषि, पशुपालन, पर्यटन, उद्योग तथा वाणिज्य, सहकारी, शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य तथा आयुर्वेद, खानेपानी, सरसफाइ, महिला, बालबालिका तथा जेष्ठ नागरिक, कला–संस्कृति, सडक–पुल, सिँचाइ र भवन तथा सहरी विकास क्षेत्रलाई प्राथमिकताका साथ समेटिएको छ।
स्थानीय विशेषताअनुसार योजना समावेश
गोलन्जोर गाउँपालिका जुनार उत्पादनका लागि परिचित भएकोले ‘जुनार ब्रान्डिङ’, बजार विस्तार र महोत्सव आयोजना गर्ने कार्यक्रम नीति तथा कार्यक्रममा उल्लेख छ। साथै, गाउँपालिकाभित्र रिङ्गरोड निर्माणको अवधारणा ल्याइने, हायु भाषाको संरक्षणका लागि हायु संग्रहालय निर्माण गरिने, हरेक घाटमा मलामी विश्रामस्थल र शौचालय निर्माण गरिने उल्लेख छ।
स्वास्थ्य बीमा, ‘एक घर, एक धारा’ योजना, विपन्न नागरिकलाई निःशुल्क विद्युत मिटर वितरण, डिजिटल नागरिक वडापत्र सुरु, बाँदर नियन्त्रणका लागि वन क्षेत्रमा फलफूल खेतीको प्रवर्द्धन, तथा विपद् व्यवस्थापनका लागि वडा र पालिका तहमा भण्डारण गोदाम निर्माण जस्ता कार्यक्रमसमेत समावेश गरिएको छ।
वडाध्यक्षको आपत्ति : ‘पूर्वसल्लाहबिनै कार्यक्रम सार्वजनिक’
गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने शैलीप्रति वडा नं. ६ का वडाध्यक्ष रविन कुमार श्रेष्ठले गम्भीर असहमति जनाउनुभएको छ। उहाँले “गाउँसभा सदस्यहरूले धारणा राख्न पाउनु पर्ने संवैधानिक अधिकार कुण्ठित गरिएको” भन्दै औपचारिक रूपमा नोट अफ डिसेन्ट लेख्नुभएको छ।
“कुनै बैठक नबसी, वडाध्यक्षहरूसँग छलफल नगरी, एकलरूपमा नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ,” वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, “यसरी गरिने अभ्यास लोकतान्त्रिक विधिसँग मेल खान्न।”
गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेसँगै आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट असार १० गते प्रस्तुत गरिने जनाएको छ।