हेटोंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले गृहमन्त्री रवि लामिछाने माथि संसदीय छानबिन समिति नबने बागमती प्रदेश प्रदेश सभा चल्न नदिने चेतावनी दिएका छन् । सोमबारबाट सुरु भएको बागमती प्रदेश सभाको बजेट अधिवेशनमा बोल्दै नेता लामाले यस्तो चेतावनी दिएका हुन् । सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग गर्दै छानबिन समिति गठन नभए प्रदेश सभा चल्न नदिने चेतावनी दिए ।
‘विनाधितो, विनाजमानी सहकारीबाट करोडौँ रकम निकालेर अनियमितता गरेको आरोप लागेका गृहमन्त्रीमाथि छानबिन हुनुपर्छ । आफू प्रतिपक्षमा हुँदा छानबिन हुनुपर्ने, आफू सरकारमा हुँदा नपर्ने । त्यसो हो भने संघमा जस्तै यहाँ पनि संसद् अवरुद्ध हुन सक्छ,’ नेता लामाले भने ।
नेता लामाले प्रतिपक्षको आवाजलाई कमजोर नठान्न चेतावनी दिँदै जनताले दुःख गरेर जम्मा गरेको रकम हिनामिना गर्नेलाई कांग्रेसले त्यत्तिकै नछाड्ने चेतावनी दिए ।