रामेछाप । मन्थली नगरपालिका वडा नम्बर ११ गजपानिमा गए राति आगोलागि हुँदा दुई घर जलेर नष्ट भएको थियो । आगालागिबाट घरबार विहीन बनेका आगोलागि पीडित फस्टबहादुर श्रेष्ठको परिवारलाई मन्थली नगरपालिका लगायत विभिन्न सङ्घ संस्थाले शनिवार बिहान राहत हस्तान्तरण गरेको छ । मन्थली नगरपालिका लगायत विभिन्न सङ्घसंस्था घटनास्थलमा पुगेर श्रेष्ठको परिवारलाई राहत सामाग्री हस्तान्तरण गरेका हुन् ।

मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ वडा अध्यक्ष भीम बहादुर थापा सहित नगरपालिका बाट पुगेका टोलीले नगरपालिकाका तर्फबाट खाधन्न सामग्री अन्तर्गत दाल, चामल, चिउरा,तेल लगायत चार बन्डल जस्तापाता र त्रिपाल हस्तान्तरण गरेको छ । त्यसै गरी शनिवार नई जिल्ला विपद् व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाइटी र मन्थली बचत तथा ऋण सहकारी संस्थाले खाद्यान्न, ओढ्ने ओछ्याउने, त्रिपाल, भाडा बर्तन र अन्य अत्यावश्यक सामाग्रीहरू आगलागी पीडित परिवारलाई घटनास्थलमानै पुगेर हस्तान्तरण गरेका छन् ।

आगोमा परेर नगद १०लाख , सुन ४ तोला चाँदी २ तोला जलेर नष्ट भएको पीडित श्रेष्ठले बताएका छन् । त्यस्तै २६ वटा खसी बाख्रा, अन्न र लत्ता कपडा समेत जलेर नष्ट भएको बताएका छन् । साथै ४० मुरी भन्दा बढी धान सहित सम्पूर्ण खाद्यान्न सामग्री सहित जलेको उनले बताएका छन् ।
यसैबिच आगोले घर ध्वस्त भएका परिवारलाई अस्थायी रूपमा बसोबास गराउनका लागि जिल्ला स्थित सुरक्षाकर्मीले अस्थायी आवास निर्माण गर्ने काम थालेको छ । सो कार्यका लागि खग्गदल गण बाट नेपाली सेना र जिल्ला प्रहरी कार्यालयबाट पुगेका प्रहरीहरू संलग्न रहेको छ । क्षतिको विवरण सङ्कलन गर्ने कार्य समेत प्रहरीले थालेको वडा अध्यक्ष भीमबहादुर थापामगरले जानकारी दिनु भयो ।
एक्कासि राति साँढे ९ बजे देखि सुरु भएको आगो आज बिहान साढे ३ बजे स्थानीय नागरिक, नेपाल प्रहरी लगायत सुरक्षा निकायको सक्रियतामा नियन्त्रणमा आएको हो ।
