रामेछाप । मन्थली नगरपालिका वडा नं–११ गेलु काउलेका तामाङ्ग समुदायले गेलुको रिग्सुम धुर्ठोई डाँडामा विश्व शान्ति पूजा, होम यज्ञ र आयु अभिशेक र गणचक्र पूजा लगाएका छन् ।
जिल्लामा पहिलो पटक गेलु काउलेका तामाङ्ग समुदायले विश्वशान्ती पूजा लगाएका हुन् । गेलुमा रहेका तामाङ्ग समुदायहरुले चैत्र १२ गतेदेखी शुभारम्भ गरिएको उक्त होम यज्ञ, आयु अभिशेक र गणचत्र पूजा विधिवत रुपमा १७ गते मगंलवार सम्पन्न गरिएको छ । तामाङ्ग समुदायले ६ दिन लगाएर गरिएको उक्त पूजामा काठमाण्डौंवाट आएका धर्मगुरु सोनम टुल्कु घर्वाङ रीन्पोछेले विश्वशान्ति पूजामा पाठ गरेका थिए ।
तामाङ्ग समुदायले जिल्लामा पहिलो पटक लगाएको उक्त यज्ञ पूजामा ५६ जना लामा गुरुहरुले ६ दिनसम्म लगाएर पाठ गरेका थिए । चैत्र १२ गतेदेखी शुरु भएको उक्त पूजा प्रत्येक दिन विहान ७ वजेबाट शुरु भई वेलुका ७ वजेसम्म दैनिक पाठ र होमहोमादी गरेर बित्ने गरेको थियो । उक्त यज्ञको लागि धर्मगुरु सहित २२ जना लामा काठमाण्डौंवाट आएका थिए । यसवाहेक सिन्धुपाल्चोक, काभ्रे, दोलखा, सिन्धुली र रामेछापका गरि ५६ जना लामा गुरुहरुले उक्त यज्ञ पूजामा पाठ गरेका थिए ।
सबैको शान्ति होस्, सबैमा शान्तिको भावना पैदा होस्, रोगव्याधी नलागोस्, भावी पुस्तालाई पनि आरोग्य हुन साथै तामाङ्ग समुदायले आफ्नो रितीरिवाजलाई जर्गेना गर्ने उद्धेश्यले उक्त यज्ञ लगाइएको आयोजक समितिका सदस्य जितबहादुर तामाङ्गले जानकारी दिए । उनले भने– यज्ञ संचालन गर्न सबै समुदायका नागरिकहरुले आफ्नो गच्छे अनुसार स्वंइच्छा दान गरेको रकमले उक्त आयोजना गरिएको हो । उक्त ६ दिनसम्म लगाइएको विश्वशान्ति पूजामा करिव ४० देखी ६० लाख रुपैयाँ खर्च भएको पनि सदस्य तामाङ्गले वताए ।
छ दिनसम्म संचालन भएको उक्त यज्ञ पूजामा आउने दर्शनार्थी लगाएतका सबैलाई खाना, खाजा लगाएतको वन्दोवस्त समेत गरिएको थियो । तामाङ्ग समुदायले लगाएको उक्त यज्ञको समापन कार्यक्रम रामवहादुर तामाङ्गको अध्यक्षता तथा मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार वस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रमेशकुमार वस्नेले तामाङ्ग समुदायले आफ्नो धर्म रिती रिवाजलाई जर्गेना गर्ने उद्धेश्यले गरिएको यस पूजाले समस्त मानव जगतलाई शान्तिको वाटोमा हिड्न उत्प्रेरणा मिल्ने बताए ।
सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख वस्नेतले मन्थली नगरपालिका गेलुको रिग्सुम धुर्ठोई डाँडालाई धार्मिक र पर्यटकीय स्थल निमार्ण गर्न लागि पर्ने भन्दै यस क्षेत्रको लागि सडक, खानेपानी र शौचालय निमार्णको लागि आवश्यक वजेटको लागि योजना वनाएर वडा मार्फत नगरपालिकामा ल्याउन सवै तामाङ्ग समुदायलाई आग्रह समेत गरे ।
उक्त कार्यक्रममा मन्थली नगरपालिका वडा नं–११ का वडा अध्यक्ष भिमवहादुर थापामगरले वडा भित्र चाहिने आवश्यक विकास निमार्णको लागि आफ्नो कार्यकालमा सक्दो सहयोग गर्ने साथै वडा भित्रका सवै नागरिकहरुले विकासको अनुभूती हुने किसिमले काम गर्ने बताए । उनले भने– तपाईहरुले माग गरे अनुसारको विकास निमार्णको कामलाई प्राथमिकतामा राखेर काम गरेको छु । आउने दिनमा यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।
समापन कार्यक्रममा मन्थली नगरपालिका वडा नं–१४ फुलासीका वडा अध्यक्ष भरत वाइवा, मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलारज पौडेल, नेपाल पत्रकार महासंघका उपसभापति कैलाश खत्री लगाएतका वक्ताहरुले आ–आफ्नो मन्तव्य राखेका थिए भने सो समापन कार्यक्रमको संञ्चालकको रुपमा ज्ञानु श्रेष्ठले गरेकी थिइन ।