रामेछाप । जेष्ठ नागरिकहरुलाई लक्षित गरि मन्थली नगरपालिकाले आयोजना गरेको दुई दिने एकीकृत घुम्ति शिबिरमा सातसय जेष्ठ नागरिकहरुले स्वास्थ्य सुविधा लिएका छन् ।
मन्थली नगरपालिकाले शनिवार वडा नं–११ र १२ गेलुमा गरेको ल्याव सहितको स्वास्थ्य शिविरमा जेष्ठ नागरिकहरुले सहज रुपमा सेवा पाएका छन् । शिविरको अलावा नगरपालिकाले जेष्ठ नागरिहरुलाई सहजताको लागि बैकिङ्ग खाता खोल्ने काम समेत गरिएको छ । मन्थली नगरपालिकाको स्वास्थ्य शाखाले संचालन गरेको शिविरमा वडा नं ११ गेलुमा मात्रै ४ सय ३ जना जेष्ठ नागरिकहरुले स्वास्थ्य परिक्षण गराएका छन् भने ९६ जनाले ल्याव प्रविधिवाट रगत र पिसाब परिक्षण गराएका मन्थली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव फुयालले जानकारी दिए ।
त्यस्तै शिविरमा पुगेका जेष्ठ नागरिकहरुले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता लिन सहजताका लागि बैकिङ खाता खोल्न गाउँमा पुगेका कृषि विकास बैंकका कर्मचारीहरुले २ सय जेष्ठ नागरिकहरुको खाता खोलिदिएका छन् । यस्तै आइतवार वडा नं–१२ गेलुमा गरिएको स्वास्थ्य परिक्षणमा ६० जना जेष्ठ नागरिकहरुले स्वास्थ्य परिक्षण गराएका छन् भने १ सय १२ जना जेष्ठ नागरिकहरुले ल्याव प्रविधिवाट रगत र पिसाव परिक्षण गराएका छन् । उक्त गाउँका जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणाली मार्फत दिने गरी खाता खोल्न पुगेका मेघा बैंकका कर्मचारीहरुले १ सय ३८ जना जेष्ठ नागरिहरुको खाता खोलिएको छ ।