रामेछाप । नेकपा एमालेका नेता एवं खानी निमार्ण प्रा.लि.का प्रोपाइटर रत्न गौतमले सरकारी मान्यता प्राप्त “स्योर स्टाटस” एन्टिजेन किट १ हजार थान शुक्रवार जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरेका छन् ।
जिल्लामा एन्टिजेन किट अभाव भएर कोरोना संक्रमितहरुको परीक्षण गर्न समस्या भएपछि नेकपा एमालेका नेता गौतमले आफ्नो व्यक्तिगत लगानीमा गत मगंलवार १ हजार थान “हाइटप” एन्टेजिन किट, ६० वटा ग्याँस सहितको सिलिण्डर अक्सिजन, ५० थान अक्सो मिटर, २ सय ५० थान पिपीइसेट लगाएतका सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।
संकट व्यवस्थापन केन्द्रले उक्त किट पाउनासाथ तत्काल ८ वटै स्थानिय तहका स्वास्थ्य संस्थाहरुमा पठाएर कोरोना संक्रमित विरामीहरुको परीक्षण शुरु गरेको थियो । कोरोना संक्रमितको परीक्षणको क्रममा कीट माथि संका लागेर स्वास्थ्यकर्मीहरुले उक्त किटको बिषयमा स्वास्थ्य मन्त्रालयमा जानकारी लिदा नेपाल सरकारवाट मान्यता प्राप्त नभएको देखिएपछि परीक्षण रोकेका थिए ।
यसअघि नेता गौतमले जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरेको किट सरकारी मान्यता प्राप्त गर्न बाँकी रहेको देखिएपछि उक्त किटको सट्टामा नेता गौतमले सरकारी मान्यता प्राप्त १ हजार थान एन्टिजेन किट जिल्लामा पुनः पठाएका हुन् । किट सँगै नेता गौतमले ९ वटा ग्याँस सहितका ठूला अक्सिजन सिलिण्डर, ५ वटा बिरामी राख्ने बेड, ५ हजार थान सर्जिकल मास्क र २ सय थान ग्लोब्स लगाएतका सामाग्रीहरु जिल्ला स्तरीय कोभिड संकट व्यस्थापन केन्द्रलाई शुक्रवार हस्तान्तरण गरिएको नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले जानकारी दिए ।
उनले भने– यसअघि संकट व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरिएको किट नेपाल सरकारवाट मान्यता प्राप्त हुन वाँकी रहेको देखिएपछि तत्काल नै त्यसलाई प्रयोगमा रोक लगाएर पुनः नयाँ सरकारवाट मान्यता प्राप्त किट ल्याएर हस्तान्तरण गरिसकेका छौं । पहिला हस्तान्तरण गरिका किटहरु संकलन गरेर राखी छाड्ने पछि कम्पनीले मान्यता प्राप्त गरेपछि पुनः त्यो किट पनि प्रयोगमा ल्याउन सकिने अध्यक्ष श्रेष्ठले बताए ।
यसअघि गत मगंलवार नेता गौतमले संकट व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरेको हाइटप एन्टिजेन किट छबी ट्रेड कन्सर्न काठमाण्डौंबाट खरिद गरिएको थियो । विक्रेताले यसअघि उक्त किट नेपाल सरकारसँग मान्यता प्राप्त गरि वजारमा विक्री गरेको भएता पनि यो पटक भने उत्पादन भएको किट सरकारी अनुमती नलिईकन बजारमा विक्री गरेको भेटिएको छ । किट सूचिकृत प्रक्रियामा रहेको जानकारी विक्रेताले गरेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा.जितेन्द्रकुमार कर्णले जानकारी दिए ।
उनले भने– किट किन्ने व्यक्तीलाई सरकारी मान्यता छ की छैन भन्ने थाहाँ हुँदैन । योत किट विक्रीवितरण गर्ने कम्पनीले नेपाल सरकारसँग सूचिकृत गरि अनुमती लिएर मात्रै बिक्री गर्नुपर्ने हुन्छ । सरकारसँग अनुमती नै नलिई वजारमा किट विक्रीवितरण गर्ने कम्पनीलाई आवश्यक कारवाही गरिनुपर्ने पनि डा.कर्णले बताए ।