नेपाली सेना ले निर्वाचनको अवधिमा आफ्नो भूमिका परिवर्तन नभएको स्पष्ट पारेको छ। मतपेटिका ढुवानीबारे उठेका प्रश्नपछि सेनाले एकीकृत सुरक्षा योजना अनुसार सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षित रूपमा निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता दोहोर्याएको हो।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन–२०७४ र एकीकृत सुरक्षा योजना–२०८२ अनुसार काम भइरहेको सेनाले जनाएको छ। विगतझैँ यसपटक पनि मतदानपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन अधिकृत र दलका प्रतिनिधिसहितको संयुक्त टोलीले मतपेटिका मतगणना स्थलसम्म पुर्याउने व्यवस्था रहेको सेनाको भनाइ छ।










