काठमाडौँ । एएफसी यू–२० महिला एसियन कप छनोटको अन्तिम तथा निर्णायक खेलमा आज नेपाल उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दैछ। भुटानको चाङ्लिमिथाङ रङ्गशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ।
समूह ‘ए’ बाट प्रत्यक्ष एसियन कपमा पुग्ने अवसर जोगाइराख्न नेपाललाई आजको खेलमा उत्तर कोरियामाथि जित आवश्यक छ। यसअघि शुक्रबार भएको खेलमा नेपालले साउदी अरबलाई १–० ले पराजित गरेको थियो भने उत्तर कोरियाले भुटानलाई १०–० ले हराउँदै लगातार दोस्रो जित दर्ता गरेको थियो।
उत्तर कोरियाले यसअघि साउदी अरबमाथि १५–० को विशाल जित हासिल गरेको थियो, जबकि नेपालले पहिलो खेलमा आयोजक भुटानसँग १–१ को बराबरी खेलेको थियो। यससँगै दुई खेलपछि उत्तर कोरिया ६ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल ४ अंकसहित दोस्रो स्थानमा रहेको छ।
३२ देशको सहभागिता रहेको यस छनोट प्रतियोगितामा आठ समूह छन्। हरेक समूहको विजेता टोलीसँगै उत्कृष्ट तीन उपविजेताले आगामी वर्ष थाइल्यान्डमा हुने यू–२० महिला एसियन कपमा स्थान बनाउनेछन्। आजको खेलको नतिजाले नेपालको एसियन कप यात्राको भविष्य तय गर्नेछ।









