रामेछाप । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले सरकारले द्वन्द पिडित एकल महिलाहरुलाई पनि भत्ता उपलब्ध गराउने प्रयास भइरहेको बताउनु भएको छ । मानव अधिकारको लागि महिला, एकल महिला समूह (WHR) को ५ औं अधिवेशनको उद्घाटन गर्दै मन्त्री रेग्मीले द्वन्द पिडित एकल महिलालाई भत्ता उपलब्ध गराउन आवश्यक पहलकदमी र प्रक्रियामा लागेको बताउनु भएको छ । मन्त्री रेग्मीले भने सो कार्यले द्वन्द पिडित एकल महिलाहरुको पिडामा मलम लगाउने राम्रो प्रयास हुने छ ।
एकल महिलाहरुलाई वर्गिकरण गर्ने कुरा उठेको भन्दै त्यसो गर्न नहुने भन्दै मन्त्री रेग्मीले सबै एकल महिलाको हकहितको लागि आफु सधै अग्रपंतिमा रहेर काम गर्न तयार रहेको बताउनु भयो । राज्यको हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व बढेको बताउदै मन्त्री रेग्मीले अधिकार प्राप्तिको लागि सबैले संघर्ष गर्नु पर्ने पनि बताउनु भयो ।
मन्त्रि रेग्मीले छिटै नियमावली र कार्यविधि बनाएर एकल महिला कोष लाई कार्यान्वन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । कार्यक्रममा एकल महिला समुहकि संस्थापक अध्यक्ष लिली थापा, वर्तमान अध्यक्ष कुन्दा शर्मा लगायतले पनि आफ्नो धारणा ब्यक्त गर्नु भएको थियो ।