वैतेश्वरमा सर्पको टोकाइबाट महिलाको मृत्यु
दोलखा समाचारदाता
चरीकोट, वैशाख २९ गते ।
दोलखाको वैतेश्वर गाउँपालिकामा सर्पको टोकाइबाट एक महिलाको असामयिक निधन भएको छ । मृत्यु हुनेमा वैतेश्वर गाउँपालिका–७ मार्वु निवासी ३५ वर्षीया कल्पना तामाङ रहनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार उहाँ सोमबार दिउँसो घर नजिकैको जङ्गलमा दाउरा लिन जानुभएको बेला सर्पले टोकेको थियो । जङ्गलमा काम गर्ने क्रममा सर्पले डसेपछि उहाँलाई उपचारका लागि तत्काल वैतेश्वर–६, बुस्तीस्थित लालीगुराँस सामुदायिक अस्पताल पुर्याइएको थियो ।
उपचारका क्रममा उहाँको सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता एवं प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो । पछिल्लो समय गर्मी बढेसँगै ग्रामीण भेगमा सर्पको जोखिम बढेकाले वनजङ्गल जाँदा र हिँडडुल गर्दा विशेष सचेत रहन प्रहरीले स्थानीयलाई आग्रह समेत गरेको छ । दिवंगत तामाङको शव कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ ।









