भारतको नयाँ दिल्लीमा करोडौँको चोरी गरी नेपाल फरार भएका दुई जनालाई प्रहरीले बहुमूल्य सामानसहित पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले बाजुरा खप्तडछेडेदह गाउँपालिका–३ का लोकेश धामी र बुढीगंगा नगरपालिका–१० का उपेन्द्र रावतलाई पक्राउ गरी सार्वजनिक गरेको हो।
गत फागुन १३ गते नयाँ दिल्लीको राजेन्द्रनगरस्थित सञ्जयकुमार माखीजाको घरबाट घरेलु कामदारका रूपमा कार्यरत उनीहरूले २ करोड १० लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए। घरधनीले सुदूरपश्चिम प्रहरीमा उजुरी दिएपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नेपालबाटै पक्राउ गर्न सफल भएको हो।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाका अनुसार पक्राउ परेका रावतको साथबाट १ करोड ३४ लाख ९० हजार मूल्य बराबरका १० थान बहुमूल्य ब्रान्डेड घडी तथा ४३ लाख ३३ हजार मूल्यको सुनचाँदी बरामद गरिएको छ। यस्तै, धामीको साथबाट ३६.६२ ग्राम हिरा र सुनका गरगहना बरामद भएका छन्। चोरीमा संलग्न अछाम साँफेबगरका अर्जुन सुनार भने अझै फरार रहेकाले उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।









