२५ भदौ, काठमाडौं । जेनजी आन्दोलन चर्किँदै जाँदा देशभरका कारागारहरू एकपछि अर्को गर्दै खाली हुँदै गएका छन् । सोमबार नख्खु कारागारबाट रास्वपा सभापति रवि लामिछाने बाहिरिएपछि सुरु भएको यो घटनाक्रम अहिले देशव्यापी संकटमा परिणत भएको छ । रवि बाहिरिएसँगै जन्मकैदको सजाय भोगिरहेका कुख्यात अभियुक्त सञ्जय टक्लासहित नख्खु कारागार पूरै खाली भयो । त्यसपछि अन्य धेरै जिल्लाका कारागारमा पनि कैदीहरूले तोडफोड र आगजनी गर्दै भाग्ने क्रम सुरु गरे ।
कैलाली, कास्की, म्याग्दी, कञ्चनपुर, झुम्का, सोलु, रौतहट र मकवानपुरलगायतका कारागारमा सयौं कैदी फरार भइसकेका छन् । म्याग्दीमा मात्र ८८ मध्ये ७२ जना भागेका छन् भने कञ्चनपुरमा ४७६ मध्ये २२ जना मात्र बाँकी रहेका छन् । सुदूरपश्चिम प्रदेशमा बाजुराबाहेक सबै कारागार खाली भएको खबर आएको छ । केवल कैलालीमै करिब सात सय कैदी थिए, जसलाई आन्दोलनकारीहरूले बाहिर निकालेपछि सम्पूर्ण कारागार सुनसान भएको छ ।
भागेका कैदीहरूले अदालत र सरकारी वकिल कार्यालयहरूलाई नै लक्षित गरेर आक्रमण गर्न थालेका छन् । कपिलवस्तुमा त कैदीहरूले जिल्ला अदालत र सरकारी वकिल कार्यालयमा तोडफोड र आगजनी गरे । सुरक्षा निकायका अनुसार आफ्नाविरुद्ध रहेका प्रमाण नष्ट गर्न उनीहरूले यस्ता कार्यालयहरूलाई पहिलो निशाना बनाएका हुन् ।
कारागार प्रशासनका अनुसार हालसम्म देशभरका कैदीबन्दीहरूको स्पष्ट तथ्यांक उपलब्ध छैन । केही दिनअघि सम्म करिब तीस हजार कैदी रहेका तर अहिले कति फरार भए भन्ने यकिन विवरण छैन । भाग्ने क्रम अझै जारी रहेको विभागका निर्देशक चामेन्द्र न्यौपानेले जानकारी दिएका छन् । उनका अनुसार कतिपय ठाउँमा त बाहिरबाटै समूहले कैदी निकाल्ने प्रयास गरेको छ भने केही ठाउँमा भित्रैबाट आगजनी र तोडफोड भइरहेका छन् ।
पूर्व नायब महान्याधिवक्ता रेवतीराज त्रिपाठीका अनुसार अपराधीहरू समाजमा खुलेआम निस्कनु गम्भीर खतरा हो । यसले आम नागरिकमा असुरक्षा बढाउने मात्र होइन, दण्डहीनताको वातावरणलाई प्रश्रय दिने खतरा देखिन्छ ।
देशभर कारागार जल्दै, कैदी फरार हुँदै र अदालत लक्षित आक्रमण भइरहेका घटनाले अहिले मुलुकको सुरक्षा व्यवस्थालाई गम्भीर प्रश्नचिन्हमा उभ्याइदिएको छ ।









