काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई जिल्ला अदालत काठमाडौँले २ वर्ष कैद सजाय सुनाएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विनोदकुमार खतिवडाको इजलासले कुटपिटमा संलग्न र कुटपिट गर्न लगाउने सबैलाई सजाय र जरिवानाको फैसला सुनाएको हो ।
२०७७ कात्तिक २० गते काठमाडौँ जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा दर्ता भएको उक्त मुद्दामा अदालतले ज्यान मार्ने उद्योग नभई कुटपिट र अङ्गभङ्गमा दोषी ठहर गरेको हो । घटनामा संलग्नमध्ये मुख्य योजनाकार मानिएका हरि आचार्य, सह योजनाकार योगेन्द्र रावल तथा कुटपिटमा संलग्नहरू रुपेश साह, रविनकुमार लामा, निरज रानामगर र सयुज श्रेष्ठलाई जनही दुई वर्ष कैद र पीडित उपप्राध्यापक प्रेम बहादुर चचलाउनेका साथै दोषी ठहर भएकाहरुले जनही २० हजार रुपैयाँ जरिवाना समेत बुझाउनुपर्ने भएको छ । घटनामा सहयोगी रहेका भनिएका दिपकराज ओझालाई भने सफाइ दिइएको छ ।