रामेछाप । सदरमुकाम मन्थलीमा छाडा छोडिएका कुकुरहरुले यत्रतत्र नागरिकहरुलाई टोक्न थालेपछि मन्थली नगरपालिका पशुसेवा शाखा मन्थलीले छाडा कुकुरहरुको बन्ध्याकरण शिविर शुरुवात गरेको छ ।
मन्थली नगरपालिका पशु सेवा शाखा मन्थलीको आयोजना गरेको उक्त शिविरमा ५० प्रतिशत साझेदारीमा नेपाल एमिनल वयलफेयर एण्ड रिसर्च सेन्टर (नार्क) बनेपा, काभ्रेपलाञ्चोकको प्राविधिक सहयोगमा शुक्रवार देखी मन्थलीको पशुसेवा शाखा कार्यालयमा शिविर शुरु गरिएको हो । शिबिर कार्तिक १६ गतेसम्म संचालन हुने पशुसेवा शाखा मन्थलीले जनाएको छ ।
गाउँतीरबाट सदरमुकाम मन्थली झरेका कुकुरहरु यतै बस्ने र नागरिकहरुलाई टोक्न थालेपछि पशुसेवा शाखा मन्थलीले रेविज विरुद्धको खोप शिबिर संञ्चालन गर्नुपरेको हो । सदरमुकाम मन्थलीमा शुरु भएको शिविर यहाँ सम्पन्न भएपश्चात पालिकाको अन्य वडाहरुमा पनि संचालन गरिने मन्मन्थली नगरपालिका पशुसेवा शाखाका पशु सेवा प्राविधिक रोहिणीराज चापागाईले जानकारी दिए ।
उनले भने– शिविरमा बजारमा यत्रतत्र हिडेका कुकुरहरुलाई पशुसेवाका कर्मचारीहरुले जाल हानेर नियन्त्रणमा लिने र ती कुकुरहरु मध्ये भाले कुकुरलाई बन्ध्याकरण गर्ने र पोथी कुकुरलाई रेविज बिरुद्धको भ्याक्सीन लगाएर छाडिदिने गरिएको छ । शिविरमा छाडा कुकुर अलावा घरमा पालिएका कुकुर धनीहरुलाई पनि आफुले पालेको कुकुरलाई रेविज विरुद्धको भ्याक्सिन लगाउन पशुसेवा शाखा कार्यालयमा लिएर आउन आग्रह समेत गरेका छन् ।