मन्थली -रामेछापका तीन स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएका छन्। दशैँतिहारमा घर फर्किने यात्रुहरूको सहजता र सुरक्षालाई प्राथमिकता दिँदै जिल्ला प्रहरी कार्यालयले केहि दिन अघि कक्ष स्थापना गरेको हो ।
कार्यालयका अनुसार मन्थली नगरपालिका–६ सेलेघाट, मन्थली बजार र लिखुतामाकोशी गाउँपालिका–६ खिम्तीमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ यी कक्षहरूबाट यात्रासम्बन्धी आवश्यक जानकारीसहित आकस्मिक सहयोग उपलब्ध गराइने रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए।यात्रुहरूले ढुक्कका साथ आफ्नो गन्तव्यमा पुग्न र चाडपर्वमा कुनै समस्या नभोगी खुसीयाली मनाउन सहयोग गर्ने हेतुले जिल्ला प्रहरी कार्यालयले यो रणनीति अपनाएको हो ।
रामेछाप प्रहरीले दशैँ तिहार लक्षित सुरक्षा रणनीति तयार गरी कार्यान्वयन गरेको छ । यसले चाडपर्वको बेला हुने असुरक्षा, अपराध तथा दुर्घटना घट्ने र नागरिकले निडर भएर दशैँ–तिहार मनाउन सक्ने अपेक्षा गरिएको जिल्ला प्रहरी कार्यलय रामेछापले जनाएको छ ।









