मेरो प्रदेश डेक्स
मन्थली, भाद्र ६
रामेछापको रामेछाप नगरपालिकामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालले राजयोगिनी दादी प्रकाशमणीको १८ औं स्मृति तथा विश्व वन्धुत्व दिवसको अवसरमा आयोजना गरेको सो कार्यक्रम सम्पन्न भएको हो । रगत अभावका कारण कुनै पनि बिरामीले अकालमा ज्यान गुमाउन नपरोस् भनेर गरिएको रक्तदान कार्यक्रमबाट ३० पिन्ट रगत संकलन भएको ब्रह्माकुमार रामकुमार श्रेष्ठले बताउनु भयो । रामेछाप नगरपालिकाको समन्वयमा र नेपाल रेडक्रस सोसाइटी रामेछापको प्राविधिक सहयोगमा भएको सो कार्यक्रममा २३ पुरुष र ७ जना महिलाले रक्तदान गरेको उहाँले जानकारी दिनु भयो ।

राजयोगिनी दादी प्रकाशमणीले सिकाउनु भएको सेवाको मार्गमा हिँड्दै यो रक्तदान कार्यक्रम आयोजना गरिएको ब्रह्माकुमार श्रेष्ठले बताउनु भयो । उहाँले सबैभन्दा ठूलो दान रक्तदान रहेको उल्लेख गर्दै मानवताको सेवा नै सबै भन्दा ठूलो धर्म भएको बताउनु भयो । रक्तदानमा संकलित रगतले जिल्लाका अस्पतालहरुमा जीवन र मृत्युको दोसाँधमा रहेका बिरामीहरुलाई ठूला राहत मिल्ने नेपाल रेडक्रस सोसाइटी रामेछापले जनाएको छ । ८ गते ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र मन्थलीमा पनि रक्तदान कार्यक्रम आयोजना हुने बताइएको छ ।










