रामेछाप । घर भित्रको हिंसा कहिलेकाहीँ यति क्रूर हुन्छ कि पीडितले आफ्नै ज्यान जोगाउन जंगलमा रात बिताउनुपर्छ। रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुकी ३४ वर्षीया सर्मिला तामाङको कथा पनि यस्तै पीडादायी र आक्रोशजनक बनेको छ।
सर्मिलाका अनुसार उनका श्रीमान् ३६ वर्षीय गोपिलाल तामाङले उनलाई “बोक्सी” को आरोप लगाउँदै विगत ११ वर्षदेखि निरन्तर कुटपिट गर्दै आएका छन्। “म तसँग बस्दिनँ, छाडेर जा” भन्दै बारम्बार घरनिकाला गर्ने र शारीरिक तथा मानसिक यातना दिने क्रम रोकिएको छैन।
दुई सन्तान—१२ वर्षीया छोरी र ७ वर्षका छोरा—को जिम्मेवारी एक्लै सम्हाल्दै आएकी सर्मिला गाउँकै एक सहकारीमा काम गरेर जीविकोपार्जन गरिरहेकी छन्। तर, श्रीमान्को हिंसाले उनको दैनिकी असह्य बन्दै गएको छ।
यसबीच, उनले काठमाडौंको कालीमाटी प्रहरीमा उजुरी दिँदा समेत प्रहरीले गम्भीरता नदेखाई ‘मिलापत्र’ गराएर फर्काएको आरोप छ। स्थानीय वडा कार्यालय फर्पुले पनि पटक–पटक मिलाउन प्रयास गरे पनि गोपिलालको व्यवहारमा कुनै परिवर्तन आएको छैन।
वडा अध्यक्ष चन्द्रबहादुर सुनुवारले समेत “अब मिलाउन सकिँदैन” भन्दै जिल्ला प्रहरी कार्यालय रामेछाप पठाएपछि प्रहरीसमक्ष गोपिलालले सुधारिने र श्रीमतीसँग मिलेर बस्ने लिखित कागज गरेका थिए। तर, त्यो कागज कागजमै सीमित भयो—व्यवहारमा फेरि उही हिंसा दोहोरियो।
हिजो पुनः गोपिलालले कुटपिट गर्दै घरबाट निकालेपछि सर्मिला ज्यानको डरले नजिकैको जंगलमा भाग्न बाध्य भइन्। रातभर उनी जंगलमै बसिन्—एकातिर श्रीमान्को त्रास, अर्कोतिर असुरक्षित रात।
सबैभन्दा गम्भीर कुरा, गोकुलगंगा प्रहरी चौकीसँग सहयोग माग्दा पनि ‘उजुरी दिन आउनु’ भन्ने जवाफ मात्र दिइयो, तत्काल उद्धारको कुनै पहल भएन।
आज बिहान माइती पक्षका दाजु भूपाल तामाङको सहयोगमा उनी जिल्ला सदरमुकाम मन्थली पुगेर उपचार गराइरहेकी छन्।
यो घटनाले घरेलु हिंसामा संलग्न व्यक्तिहरूलाई बारम्बार उन्मुक्ति दिने प्रवृत्तिमाथि गम्भीर प्रश्न उठाएको छ। ११ वर्षसम्म निरन्तर हिंसा सहन बाध्य बनाइएकी एक महिलालाई राज्यका निकायले संरक्षण दिन नसक्नु झनै लज्जास्पद देखिन्छ।
‘बोक्सी’ जस्तो अन्धविश्वासको नाममा महिलामाथि अत्याचार गर्ने र कानुनी कारबाहीबाट बच्दै जाने प्रवृत्ति अझै जीवित हुनु समाजकै लागि खतराको संकेत हो। अब पनि दोषीमाथि कडा कानुनी कारबाही नगरे यस्ता घटनाले झन् उग्र रूप लिने निश्चित देखिन्छ।









