काठमाडौँ ः बझाङमा शक्तिशाली भूकम्पपछि लगातार परकम्प गइरहेको छ । आज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएपछि लगातार परकम्प गइरहेको छ ।
हालसम्म ४ रेक्टर स्केल माथिका चार वटा परकम्प गइसकेको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । आज दिउँसो ३ बजेर १३ मिनेटमा चैनपुर केन्द्र भएर ५.१ रेक्टर स्केलको परकम्प गएको केन्द्रका प्रमुख बलबहादुर तामाङले जानकारी दिएका छन् । त्यसपछि ३ ः४५ बजे ४.१, ४ ः २८ मा ४.१ र ४ ः ३१ मा ४.३ रेक्टर स्केलको परकम्प गएको उनले जानकारी दिए । चार रेक्टर स्केल भन्दामुनि थुप्रै परकम्प गइसकेको उनले जानकारी दिए । दिउँसो २ बजेर ४० मिनेटमा पहिला ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो । लगातार परकम्पका कारण जनजीवन त्रसित भएको छ ।
भूकम्पले केही घर र विद्यालयका भवन भत्किएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डिएसपी) भरतबहादुर शाहले जिल्लाको छविसपाथिभेरा गाउँपालिका–१ को जालेबगरमा भूकम्पमा परेर दुई जना घाइते भएको प्रारम्भिक जानकारी आएको जानकारी दिएका छन् ।
स्थानीय बासिन्दाले दुई जना घाइते भएको प्रहरीलाई जानकारी गराएपनि उनीहरूको परिचय र अवस्था भने नखुलेको प्रहरी नायब उपरीक्षक शाहले बताए । भूकम्पका कारण ठाउँ÷ठाउँमा भवनहरू भत्किएको खबर आइरहेपछि विस्तृत विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । तलकोट गाउँपालिका–१ को सुनिकोट माध्यमिक विद्यालय, जय पृथ्वी नगरपालिका–१० को सत्यवादी माध्यमिक विद्यालय, हिमालय माध्यमिक विद्यालयको भवन चर्किएको छ ।
भूकम्पसँगै आएको सुक्खा पहिरो जाँदा जय पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । प्रहरीका अनुसार सडक माथिबाट पहिरो जाँदा जय पृथ्वी नगरपालिका–७ को कचरी खोलामा राजमार्ग अवरुद्ध भएको छ ।