मन्थली -गत वर्षको वर्षाले क्षति पुगेपछि रात्रिकालीन आवागमनमा रोक लगाइएको बीपी राजमार्ग बुधबार गतेदेखि २४ सै घण्टा खुल्ले भएको छ।
जिल्ला सुरक्षा समिति सिन्धुलीको बैठकले दसैं, तिहार लगायतका चाडपर्वमा सहज यात्राका लागि यो निर्णय गरेको हो।
यसअघि, बाढीपहिरोको जोखिमका कारण काभ्रेभन्ज्याङदेखि भकुण्डेबेसी हुँदै सिन्धुलीतर्फ जाने सवारी साधनलाई साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालनमा रोक लगाइएको थियो । अब भने यात्रुहरूले जुनसुकै समयमा पनि यो मार्ग प्रयोग गर्न सक्ने सिन्धुलीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए । यो निर्णयले लामो दुरीका यात्रु तथा स्थानीय बासिन्दालाई सहजता मिल्ने अपेक्षा गरिएको छ ।
गत बर्ष काभ्रे, सिन्धुली र रामेछापको अन्तरजिल्ला सुरक्षा समन्वय समितिले बाढीपहिरोको जोखिमका कारण असार ७ गतेदेखि रातिको समयमा निजी तथा सार्वजनिक सवारी साधन चलाउन रोक लगाएको थियो।









