रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन नहुँदा कार्यालयको काम कारबाहीमा समस्या उत्पन्न भएको छ ।
मन्थली नगरपालिकाको कार्यालयले जिल्ला ट्राफिक प्रहरीको नाममा मन्थली नगरपालिका वडा नं–१ ट्राफिक विटमा १ रोपनी ३ आना ३ पैसा जग्गा प्रदान गरेको छ । ट्राफिक प्रहरीको नाममा जग्गा नगरपालिकाले दिएता पनि रकम अभावको कारण उक्त जग्गामा भवन निमार्ण हुन नसक्दा कार्यालयको दैनिक काममा धेरै समस्या झेल्नु परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख रामेश्वर पाण्डेले जानकारी दिए ।
उनले भने– कार्यालयको नाममा जग्गा भएमा भवन निमार्णको लागि आवश्यक पहल गर्ने विश्वास बागमती प्रदेश सरकारले गरेपछि मन्थली नगरपालिकासँग सहकार्य गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालयको नाममा जग्गा ल्यायौं । जग्गा प्राप्ती पछि भवनको डिपीआर र नक्सा समेत निमार्ण गरेर आवश्यक वजेटको लागी प्रदेश सरकारसँग माग गर्दा आवश्यक वजेट प्राप्न नहुँदा भवन निमार्ण हुन नसकेको ट्राफिक प्रमुख पाण्डेले बताए ।
आफ्नै भवन नहुँदा नगरपालिकाले दिएको जग्गामा एउटा ट्रस निमार्ण गरेर एक कोठा निकालेर धेरै दुःखका साथ कार्यालय सञ्चालन गर्दै आएको ट्राफिक प्रहरीले बस्नको लागि व्यक्तिको घर भाडामा लिएर काम चलाउँदै आएको छ । विभिन्न समयमा ट्राफिक प्रहरीले चेकजाँचको क्रममा नियम विपरित संचालन भएका सवारीसाधनहरु, चोरीका सवारीसाधनहरु समात्दा राख्ने ठाउँ नहुँदा समस्या झेल्दै आएको छ ।
चेकजाँचको क्रममा समातिएका सवारीसाधनहरु अहिले भइरहेको ट्राफिक विटवाट करिव १ सय मिटर उत्तरमा पर्ने आकाशेको हवाई मैदानमा लगेर राख्नुपर्ने अवस्था रहेको छ । आफ्नै जग्गामा सुविधासम्मपन्न भवन निमार्ण भए चेकजाँचको क्रममा समातिएका सवारीसाधनहरु राख्न, कार्यालय सञ्चालन गर्न र क्वाटर समेतलाई सहज हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख पाण्डेले जानकारी दिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले गएको साउन महिना यता ८ महिनाको अवधिमा १० हजार ९ सय सवारीसाधनलाई कारवाही गरेवापत १ करोड ८ लाख ३८ हजार ५ सय राजश्व रकम संकलन भएको छ । त्यस्तै नियम विपरित सवारीसाधन सञ्चालन गर्नेलाई प्रहरीले चेकजाँच गर्दा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाएर उम्कन खोज्ने २३ जनालाई नियन्त्रणमा लिइ आवश्यक कारवाही गरेर छाडिएको पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले जनाएको छ ।