रामेछाप । भुजी फुटबल लिग २०८० सुरु भएको छ । फुटबल क्लब भुजीको आयोजनामा आइतबार बाट रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं –७ भुजीमा भुजी फुटबल लिग २०८० सुरु भएको हो ।
क्लबले विगत २५ वर्ष देखी भुजी फुटबल लिग गर्दै आएको छ । २५ औँ स्थापना दिवसको अवसरमा आइतबार २५ केजीको केक काटेर स्थापना दिवस समेत मनाएको छ । ७ दिन सम्म चल्ने भुजी फुटबल लिगको उद्घाटन गर्दै नेपाली काँग्रेस रामेछापका सभापति समेत रहेका प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम)ले खेलको विकास बिना देशको विकास सम्भव नभएको बताएका छन् ।
खेलकुदले राष्ट्रियता जगाउनका साथै नागरिकमा एकता कायम गर्न सहज गर्ने र आन्तरिक तथा विदेशी पर्यटकको समेत आगमन हुने र देश विकासमा टेवा पुग्ने प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम)ले बताए । साथै जिल्लाको विकास निर्माणका लागी आफू लागिपरेको बताउँदै आफ्नो कार्यकालमा जिल्लाको विकासले नागरिकले सोचे अनुसार सफलता पाउने बताएका छन् । सो अवसरमा जिल्ला समन्वय समिति प्रमुख चिना कार्की, उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवार, उपाध्यक्ष सावित्री सुनुवार, राप्रपा का जिल्ला उपाध्यक्ष दशराम सुनुवार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका अध्यक्ष शोभाराज सुनुवारको अध्यक्षतामा भएको खेलमा रामेछाप लागएत अन्य जिल्लाका १७ टिम खेलाडी सहभागी रहेको आयोजकले जानकारी दिएका छन् । प्रथम र द्वितीय हुने प्रतियोगी टिमहरूलाई क्रमशः नगद रू १ लाख २ हजार ५ सय पच्चिस र ५० हजार पच्चिस नगद साथै उत्कृष्ट प्लेयर,किपर,गोलकर्ता,डिफेन्डर,र म्यान अफ दि म्याच उपाधि हासिल गर्ने खेलाडीलाई मेडल, प्रमाणपत्र र ट्रफि हस्तान्तरण गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । उद्घाटन खेल आयोजक संस्था फुटबल क्लब भुजी ” बि” र गुप्तेश्वर बिच हुने बताइएको छ ।
साथै भुजी लिग ट्रफि कब्जा गर्न लगातार तिन वर्ष सफल भएका उक्त क्लब वा समूहलाई २२ क्यारेट सुन र १.५ केजी चाँदीको ट्रफिको समेत व्यवस्थापन गरिएको क्लबका संस्थापक अध्यक्ष बुद्धि बहादुर सुनुवारले बताए ।