रामेछाप । भूमि सम्वन्धी समस्या समाधान आयोग जिल्ला समितिको कार्यालयको उद्घाटन मगंलवार बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले गरेका छन् ।
जिल्ला समन्वय समितिको कार्यालयको एक कोठामा भूमि सम्वन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना गरिएको हो । कार्यालयको उद्घाटन गर्दै मन्त्री ढुंगेलले जिल्लामा सुकुम्वासीहरु नभएता पनी अव्यवस्थित बसोवास गर्दै आएका नागरिकहरु र सार्वजनिक जग्गामा घर तथा टहरा हालेर बसोवास गर्दै आएका नागरिकहरुको व्यवस्थापन गर्न यो समितिले सक्रियता पूर्वक काम गर्नुपर्ने धारणा राखे ।
रामेछापको भूमि समितिमा रहने पदाधिकारी काम गर्न सक्ने दक्ष व्यक्तिहरुलाई समिति निमार्ण गर्दा राखेकाले प्रशासन, कानूनी जटिलताका कारण काम गर्नै नसक्ने अवस्था आउन नहुनेमा मन्त्री ढुंगेलले बताए । त्यसैगरी कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले भूमि सम्वन्धि समस्या आयोगलाई सकेको सहयोग गर्ने बताए ।
भूमि सम्वन्धी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष तुलप्रसाद कडेलले सरोकार सवै निकायहरुसँग समन्वय गरि भूमि सम्वन्धी देखिएका समस्याहरुको समाधान गर्दै जाने बताए । उनले भने– रामेछापमा २ नगरपालिका र ६ वटा गाउँपालिकाका प्रमुखहरुसँग भूमि सम्वन्धी समस्याका बिषयमा पालिकागत तथ्याङ्क संकलन गरेर कामलाई तिव्रता दिने अध्यक्ष कँडेलले जानकारी दिए ।