काठमाडौं । गण्डकी प्रदेश सरकारद्वारा राइड सेयरिङमार्फत निजी सवारीसाधनलाई यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको निर्णयको विरोधमा सार्वजनिक यातायात व्यवसायीहरूले भोलिदेखि गाडी सञ्चालन बन्द गर्ने घोषणा गरेका छन्।
उनीहरूले सवारीसाधन घर वा ग्यारेजमा थन्काएर सेवा पूर्णरूपमा बन्द गर्ने निर्णय गरेका हुन्। सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै जुन २ (२०८२ साल जेठ १९ गते) देखि आन्दोलनमा उत्रिने जनाएका हुन्।
व्यवसायीहरूले गण्डकी प्रदेश सरकारले संविधान र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ का विभिन्न प्रावधानविपरीत निजी सवारीसाधनलाई सार्वजनिक यातायातको रूपमा मान्यता दिएको भन्दै असन्तोष जनाएका छन्। संघीय सरकार तथा प्रदेश सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि माग सुनुवाइ नभएको भन्दै बाध्य भई आन्दोलन गर्न लागिएको उनीहरूको भनाइ छ।
विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारले आजसम्म पनि सुनुवाइ नगरेको हुँदा बाध्य भई हामी मिति २०८२/२/१९ गतेदेखि सवारीसाधन थन्काएर आन्दोलनमा उत्रिने निर्णय गरिएको छ।” सेवा बन्दका कारण यात्रु तथा सरोकारवाला पक्षलाई पर्न सक्ने असुविधाको जिम्मेवारी सरकारले लिनुपर्ने व्यवसायीहरूको भनाइ छ।
