काठमाण्डौं । महोत्तरीको मटिहानी नगरपालिका–६ मा बुधवार दिउसो आज भीषण आगलागी भएको छ । आगलागी बाट एक सयभन्दा बढी घर एकै छिनमा जलेर नष्ट भएको छ । आगलागी नियन्त्रण बाहिर गएको र नियन्त्रणमा लिने प्रयास भई रहेको मटिहानी नगरपालिकाका मेयर हरि मण्डलले जानकारी दिए ।
उनका अनुसार आगलागी नियन्त्रणमा लिन जलेश्वर, मटिहानी, रामगोपालपुर, गौशाला र जनकपुर उपमहानगरपालिकाका वारुणयन्त्र परिचालन गरिएको छ । तर, तीव्र गतिमा हावा चलेकाले आगलागी नियन्त्रणमा लिन सकिएको छैन । आगलागीबाट घर जलेपछि सयौँ परिवार विस्थापित भएका छन् ।
घटनास्थल पुगेर मधेस प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री सरोज यादवले आगलागी पीडितलाई भेटेका छन् । उनले घर पुनर्निर्माणका लागि सरकारले आवश्यक सहयोग गर्ने आश्वासन पनि दिएका छन् ।