हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले १० लाखभन्दा माथिका सबै योजना अब टेण्डर प्रक्रियामार्फत मात्रै कार्यान्वयन हुने बताएका छन्।
निर्माण व्यवसायी संघ मकवानपुरले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा मुख्यमन्त्री बानियाँले उपभोक्ता समितिमार्फत सञ्चालन हुने योजनामा बढ्दो समस्या र गुनासोका कारण यस्तो व्यवस्था अनिवार्य गरिएको जानकारी दिए।
प्रदेशसभाबाट पारित निर्णयअनुसार अब १० लाखसम्मका योजना मात्र उपभोक्ता समितिमार्फत अघि बढाइनेछ भने सोभन्दा माथिका योजना भने अनिवार्यरूपमा टेण्डर प्रक्रियामार्फत सञ्चालन हुनेछन्। यसअघि केही मन्त्रालयले गत वर्षदेखि नै यो अभ्यास सुरु गरिसके पनि अब सबै मन्त्रालयका लागि बाध्यतामूलक हुनेछ।
गत वर्ष बजेट विनियोजनका क्रममा योजना पास गर्नकै लागि १० प्रतिशतसम्म रकम असुलिएको आरोपसमेत सार्वजनिक भएको थियो। मुख्यमन्त्रीको ताजा निर्णयसँगै सेटिङमार्फत अघि बढाइने योजनामा कटौती हुने र पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ।









