रामेछाप । आर्थिक वर्ष २०८१÷०८२ को लागि बागमती प्रदेश सरकारले ६४ अर्बभन्दा बढीको बजेट ल्याएको छ । आगामी वर्षका लागि बागमती प्रदेश सरकारले ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट ल्याएको हो ।
आन्तरिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले शनिबार प्रदेश सभामा सरकारको तर्फबाट उक्त बजेट प्रस्तुत गरेका हुन् । बैठकमा कुल बजेटमध्ये चालूतर्फ २६ अर्ब १० करोड १६ लाख रुपैयाँ र पुँजीगत तर्फ ३६ अर्ब ९३ करोड ८७ लाख रुपैयाँ एवम् वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको उल्लेख गरिएको छ ।
प्रदेश सरकारले कुल विनियोजनको चालूतर्फ ४० दशमलव ४४ प्रतिशत, पुँजीगततर्फ ५७ दशमलव २३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ २ दशमलव ३२ प्रतिशत बजेट छुट्ट्याएको छ ।
प्रदेश सरकारले आन्तरिक मामिला तथा कानून मन्त्रालयको लागि ४४ करोड बजेट विनियोजन गरेको छ । भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको लागि २२ अर्ब ६४ करोड विनियोजन गरेको छ ।