मकवानपुर । बागमती प्रदेश सरकार अल्पमतमा परेको छ । नेकपा एमाले सरकार बाहिरिए संगै मुख्यमन्त्री शालिकराम जम्कट्टेलको नेतृत्वमा बनेको बागमतीप्रदेश सरकार अल्पमतमा परेको छ । सोमबार एमालेका ५ जना मन्त्रीहरुले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामूहिक राजीनामा बुझाएका पछी अल्पमतमा परेको हो ।
एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री एकालाल श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठले सोमबार राजीनामा दिएका हुन् ।
एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ । यससँगै मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले भने राजीनामा नदिने बरु विश्वासको मत लिने बताएका छन् । संसदबाट विश्वासको मत नपाएमा मात्र सरकारको नेतृत्व छोड्ने उनले बताए । अल्पमतको सरकार भएकाले अब दीर्घकालिन निर्णयहरु नगर्न एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारलाई आग्रह गरेका छन् । यस प्रदेशमा सबै दल मिलेर सहमतीय सरकार गठन गर्नका लागि आह्वान समेत गरेका छन् । रिक्त ५ वटै मन्त्रालयको कार्यभार मुख्यमन्त्री जम्कट्टेलले सम्हाल्ने भएका छन् ।