मकवानपुर । बागमती प्रदेश सभाले ५ वटा अध्यादेशलाई संशोधन गर्न स्वीकृती प्रदान गरेको छ । प्रदेशसभाको आज अपराह्न बसेको पहिलो बैठकले ५ वटा अध्यादेशलाई संशोधन गर्न स्वीकृती प्रदान गरेको हो ।
बैठकले तत्कालिन मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वको मन्त्रीपरिषद्ले जारी गरेको ५ वटा अध्यादेशलाई संशोधन गर्न स्वीकृती प्रदान गरेको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए । बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले उक्त अध्यादेशलाई स्वीकृती प्रदान गर्न प्रस्ताव गरेका थिए ।
मुख्यमन्त्री जम्मकट्टेलले प्रदेश निजामति सेवा गठन, संचालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९, स्थानीय तहका सेवा गठन तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ लाई स्वीकृती प्रदान गर्न प्रस्ताव गरेका थिए ।
यस्तै, उनले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७९, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ र प्रदेश हस्तकलाग्राम स्थापना तथा संचालन सम्बन्धी अध्यादेश २०७९ लाई स्वीकृती प्रदान गर्न प्रस्ताव टेबुल गरेका हुन् । बागमती प्रदेशसभाको अर्को बैठक भोलि अपराह्न साढे १२ बजे बस्ने प्रदेशसभाका सभामुख पाठकले बताए ।