काठमाण्डौं । बागमती प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८२÷८३ बजेट निर्माणमा जुटेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित बागमती प्रदेशमा १४ वटा मन्त्रालय रहेका छन् । जस मध्य बागमती प्रदेशका आधा मन्त्रालयलाई अर्ब माथिको र आधालाई करोडमा बजेट सिलिङ पठाइएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले गत ४ वैशाखमा मन्त्रालयहरुलाई बजेट सिलिङ पठाएको छ । गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्ष २०८१÷८२ का लागि ११ प्रतिशतले सिलिङ घटाएको मन्त्रालयले आगामी आर्थिक वर्षमा करिब २ प्रतिशतले बजेट सिलिङ बढाएको छ । आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ५५ अर्ब सिलिङ तोकिएको हो ।
बागमती प्रदेश भित्र सबैभन्दा धेरै बजेट सिलिङ भौतिक मन्त्रालय छ । भौतिक मन्त्रालयले १४ अर्बको सिलिङ पाएको छ । खानेपानी ऊर्जा तथा सिंचाइ मन्त्रालयले ५ अर्ब र स्वास्थ्य मन्त्रालयले ३ अर्बको सिलिङ पाएको छ ।
त्यस्तै गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई २ अर्ब ५१ करोड, वन तथा वातावरण मन्त्रालयलाई २ अर्ब २५ करोड, सामाजिक विकास मन्त्रालयलाई १ अर्ब ८५ करोड, संस्कृति तथा पर्यटन मन्त्रालयलाई १ अर्ब ४८ करोडको सिलिङ पठाइएको छ ।
बाँकी मन्त्रालयलाई करोडमा बजेट सिलिङ पठाइएको हो । पूर्वाधार विकास, नागरिकको रोजगार, श्रम र उद्योगसँग जोडिएका मन्त्रालयको सिलिङ गाउँपालिका जतिकै छ । करोडमा सिलिङ पाउने ७ वटा मन्त्रालयमध्ये ५ वटा विकासे अड्डा हुन् ।
युवा तथा खेलकुद मन्त्राललाई ६१ करोड मात्रै बजेट सिलिङ तोकिएको छ । त्यस्तै गरी उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयले पनि ६१ करोडकै सिलिङ पाएको छ । श्रम रोजगार तथा यातायात मन्त्रालयलाई ७१ करोडको बजेट सिलिङ तोकिएको आर्थिक मामिला मन्त्रालय स्रोतले जानकारी दिएको छ । सुरक्षा, सञ्चार र विपद् हेर्ने आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई ४४ करोड र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा २१ करोड रुपैयाँको बजेट सिलिङ तोकिएको छ ।
आर्थिक मामिला मन्त्रालय आफैंले ३७ करोडको सिलिङ राखेको छ भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ३५ करोड रुपैयाँको सिलिङ पठाइएको मन्त्रालय स्रोतले जानकारी दियो ।