बागलुङ, जेठ ३०
बागलुङको ढोरपाटन नगरपालिका–५ स्थित अस्तु बतासे डाँडामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्।
बुर्तिबाङबाट ढोरपाटन नगरपालिका–५ चौरतर्फ जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको जिप साँझ करिब ५:४५ बजे दुर्घटना भएको हो। जिप सडकबाट करिब ६० मिटर तल खसेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतले जानकारी दिए।
दुर्घटनास्थलमै ढोरपाटन–२ की ७० वर्षीय नरबहादुर कार्की र ७५ वर्षीया भीमकुमारी बुढाको ज्यान गएको हो। गम्भीर घाइते भएकी २१ वर्षीया टीकाकुमारी कुँवरको उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो भने ७५ वर्षीया मनकुमारी थापाको पोखरास्थित मणिपाल अस्पतालमा उपचारको क्रममा शनिबार बिहान निधन भएको हो।
घाइते भएका १२ जनामध्ये केहीको उपचार मणिपाल अस्पताल पोखरामा र केहीको मिसन अस्पताल पाल्पामा भइरहेको प्रहरीले जनाएको छ।
जिपमा कूल १६ जना यात्रु सवार थिए। घाइतेहरूमा चालक २७ वर्षीय गोविन्द थापा, १८ वर्षीया लुम्बिनी महत, २३ वर्षीया इन्द्रा कुँवर, २९ वर्षीया निरमाया खत्री, ३८ वर्षीया देवी परियार, ५३ वर्षीया दुर्गी दर्जी, १२ वर्षीया अञ्जु परियार, ८ वर्षीय वियानो बुढा मगर, ५ वर्षीय विनय बुढा, ३५ वर्षीया डल्ली विक, ११ वर्षीय शिशिर कार्की र ३० वर्षीया टनमाया कुँवर रहेका छन्।
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।