काठमाडौं । लगातारको वर्षासँगै मकवानपुरको भिमफेदी क्षेत्रमा आएको बाढीपहिरोका कारण काठमाडौं–हेटौंडा जोड्ने कान्तिलोकपथ र त्रिभुवन राजपथ दुवै सडकखण्ड अवरुद्ध भएका छन् ।
मकवानपुर प्रहरीले दिएको जानकारीअनुसार कान्तिलोकपथ सडकखण्ड अन्तर्गत भिमफेदी गाउँपालिका–८ को भर्याङ डाँडामा ढुंगामाटोसहितको पहिरो खस्दा सडक आवागमन पूर्ण रूपमा रोकिएको छ ।
यस्तै, त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी–१ स्थित बागझुरामा शुक्रबार दिउँसो करिब ३ः१५ बजेतिर गिटी–बालुवासहितको भेलबाढी बग्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
घटनापछि अवरुद्ध सडक खोल्ने प्रयासस्वरूप प्रहरी टोली परिचालन गरिएको छ । तर लगातार वर्षा जारी रहेकाले पहिरो पन्छाउन कठिनाइ भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।









