बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ ।

सभापति गगनकुमार थापाको सभापतित्वमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बसेको पार्टी पदाधिकारी तथा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे छलफल गर्दै विभिन्न निर्णय गरेको हो ।

बैठकमा बाढी विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समितिका संयोजक एवं रसुवाका प्रतिनिधिसभा सदस्य इन्जिनियर मोहन आचार्य, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सहमहामन्त्री बहादुरसिंह लामा, नेता जगदीश्वरनरसिंह केसी तथा नुवाकोटका पार्टी सभापति रमेश महतले प्रभावित क्षेत्रको वस्तुस्थितिबारे जानकारी गराएका थिए ।

कांग्रेसले बाढीमा हराइरहेका व्यक्तिको तत्काल खोजी, जोखिममा रहेकाको द्रुत उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा राहत उपलब्ध गराउन सरकारसँग पुनः आग्रह गरेको छ । नागरिकको जीवन रक्षालाई सर्वोच्च प्राथमिकतामा राखी उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारले गर्ने सकारात्मक प्रयासमा पार्टीको पूर्ण साथ र सहयोग रहने कांग्रेसले जनाएको छ ।

कांग्रेसले विशेषगरी सुरुङमा अड्किएका व्यक्तिको उद्धारमा भएको ढिलाइप्रति चिन्ता व्यक्त गरेको छ । कतिपय परिवारले आफ्ना आफन्त जीवित छन् कि छैनन् भन्ने समेत थाहा पाउन नसकेको भन्दै कांग्रेसले खोजी तथा उद्धारमा एक–एक मिनेट महत्वपूर्ण हुने जनाएको छ ।

सरकारले आवश्यक उपकरण, दक्ष जनशक्ति र आधुनिक प्रविधि तत्काल परिचालन गर्नुपर्ने कांग्रेसको माग छ । हवाई उद्धारलाई थप प्रभावकारी बनाउन रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट बनाएर परिचालन गर्नसमेत आग्रह गरिएको छ ।

सुरुङमा उद्धारका लागि आवश्यक परे मित्र राष्ट्रबाट प्रविधि र दक्ष जनशक्तिसहितको थप उद्धार टोली झिकाउन तथा हेलिकोप्टर भाडामा लिएर भए पनि द्रुत गतिमा उद्धार गर्ने विशेष व्यवस्था गर्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

कांग्रेसले राहत सहज स्थानमा मात्र थुपारेर विकट तथा अति प्रभावित बस्तीमा नपुगेको गुनासो आएको जनाएको छ। भौगोलिक कठिनाइका कारण केही ढिलाइ भएको भए पनि स्थानीय सरकार, सुरक्षा निकाय र समुदायसँग समन्वय गरी तत्काल प्रभावित बस्तीमा राहत पुर्‍याउन आग्रह गरिएको छ।

‘एकद्वार प्रणाली’का नाममा प्रशासनिक झन्झट सिर्जना गरी जोखिममा रहेका नागरिकलाई थप समस्यामा नपार्न भन्दै कांग्रेसले स्थानीय सरकारमार्फत समन्यायिक र पारदर्शी ढंगले राहत वितरण गर्नुपर्नेमा जोड दिएको छ।

त्यस्तै, उद्धार गरिएका नागरिकलाई सुरक्षित स्थानमा पुर्‍याउन यातायातको व्यवस्था गर्न तथा घाइते, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिला र दीर्घरोगीको सुरक्षा, संरक्षण, स्वास्थ्य उपचार, सरसफाइ, परामर्श र औषधिको व्यवस्थामा विशेष ध्यान दिन आग्रह गरिएको छ ।

बाढीबाट अवरुद्ध यातायात, विद्युत् तथा सञ्चार सेवा तत्काल सञ्चालन गर्ने वातावरण बनाउन कांग्रेसले सरकारसँग आग्रह गरेको छ । रसुवा, नुवाकोट र धादिङका अवरुद्ध सडक खुलाउन संघीय सरकारका सम्बन्धित निकाय, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय र निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको कांग्रेसले जनाएको छ। क्षतिग्रस्त पुलमा वैकल्पिक व्यवस्था गरी तत्काल आवागमन सञ्चालन गर्नसमेत माग गरिएको छ ।

बाढीले बगाएका शवहरू विभिन्न स्थानमा छरिएर रहेको भन्दै कांग्रेसले यसबाट उत्पन्न हुनसक्ने स्वास्थ्य तथा सामाजिक जटिलतातर्फ समयमै ध्यान दिन सरकारलाई आग्रह गरेको छ । प्रभावित क्षेत्रमा स्थलगत खोज तथा उद्धार टोली परिचालन गरी शवको विवरण सुरक्षित राख्न, केही दिन संरक्षण गरेर परिवारलाई सनाखतको अवसर दिन तथा मृतकको सम्मान र परिवारले आफ्नो संस्कृति तथा परम्पराअनुसार अन्तिम संस्कार गर्न पाउने अधिकार सुनिश्चित गर्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

कांग्रेसले विपद् व्यवस्थापनमा स्थानीय र प्रदेश सरकारसँग प्रभावकारी समन्वय गर्नुपर्नेमा जोड दिएको छ । स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले स्थानीय समस्या र आवश्यकतालाई नजिकबाट बुझेर राहत, उद्धार तथा पुनःस्थापनाको काम गर्न सकिने कांग्रेसको भनाइ छ । संघीय सरकारको नेतृत्वमा प्रदेश तथा स्थानीय सरकार, निजी क्षेत्र र समुदायको सहभागितामा उद्धार, राहत र पुनःस्थापनाको काम पारदर्शी तथा विश्वसनीय ढंगले अघि बढाउन कांग्रेसले आग्रह गरेको छ ।

कांग्रेसले विपद् प्रभावित जिल्लाका पार्टी नेतृत्व तथा सदस्य, जिल्ला सम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्थालाई हराइरहेका नागरिकको खोजी, प्रभावित परिवारको स्थानान्तरण तथा राहत वितरणमा सक्रिय रूपमा परिचालित हुन आग्रह गरेको छ । विपद् प्रभावित क्षेत्रभन्दा बाहिर रहेका जिल्लामा समेत बाढीमा परेका परिवारलाई सहयोग र परामर्श उपलब्ध गराउन सम्बन्धित जिल्ला तथा स्थानीय तहका पार्टी नेतृत्व र जनप्रतिनिधिलाई आग्रह गरिएको छ । नेपाली कांग्रेसले पार्टीको तर्फबाट एकमुष्ट १ करोड रुपैयाँ नेपाल सरकारको प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

पार्टीका तहगत कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ संघ, शुभेच्छुक संस्था तथा पार्टी सदस्यलाई समेत विपद् कोषमा सहयोग रकम जम्मा गर्न बैठकले आग्रह गरेको छ। यसरी संकलित रकमसहित पार्टीका तर्फबाट एकमुष्ट १ करोड रुपैयाँ प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गरिने कांग्रेसले जनाएको छ । कांग्रेसले केन्द्रीय सदस्य एवं रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यको संयोजकत्वमा गठित विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समितिलाई प्रत्येक गाउँपालिका र नगरपालिकाका वडागत रूपमा सम्पर्क गरी प्रभावित परिवारको विवरण तयार गर्न निर्देशन दिएको छ ।

समितिले प्रभावितको समस्या र आवश्यकता पहिचान गरी पार्टीका तर्फबाट गर्नुपर्ने समन्वय, सहजीकरण तथा सहयोगका विषयमा सिफारिस गर्नुपर्ने कांग्रेसले जनाएको छ । बैठकले विपद्को यो कठिन समयमा सरकार, राजनीतिक दल, संघ–संस्था, निजी क्षेत्र र नागरिक समुदाय सबैको साझा कर्तव्य विपद् व्यवस्थापनमा केन्द्रित हुनुपर्ने निष्कर्ष निकालेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...