रामेछाप । उच्च लेकाली भू–भागमा अत्याधिक मात्रामा हिमपातका कारण चिसो वढेसँगै त्यस क्षेत्रका विद्यालयमा अध्ययनरत वालवालिकाहरु विद्यालय समयमा नै कक्षाकोठा छाडेर भाग्दा कक्षा कोठा नै खाली हुन थालेका छन् ।
रामेछापको उच्च लेकाली भू–भागमा अत्याधिक मात्रामा चिसो वढेपछि त्यस क्षेत्रका विद्यालयहरुमा अध्ययनरत वालवालिकाहरुको दैनिक पठनपाठन कष्टकर पूर्ण वनेको हो । हिमाल नजिक परेका गुम्देल, वाम्ती, कुवुकास्थली, चुचुरे, ठोसे, रस्नालु, प्रिती, गौश्वारा, डडुवा र दोरम्वा लगाएतका क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुमा अध्ययनरत वालवालिकाहरु चिसोको कारण विद्यालय छाड्न वाध्य भएका हुन् ।
उच्च लेकाली भू–भागमा चिसोको समयमा वढी मात्रामा हिउँ र तुषारोकाकारण त्यस क्षेत्रका नागरिकहरुको दैनिकी प्रभावित बन्दै गएको छ । स्थानियहरु विहान वेलुकी घरवाहिर निस्कन समेत समस्या पर्ने गरेको छ । चिसो भएकै कारण विद्यालयमा अध्ययनरत वालवालिकाहरु विद्यालय आउनेको संख्यामा निकै गिरावट आएको महालंगुर माध्यमिक विद्यालय गुम्देलका शिक्षक टंक देवकोटाले जानकारी दिए ।
उनले भने– गर्मी मौसममा त ठिकै हो, अहिले चिसो मौसमयमा तुषारो र हिउँका कारण अत्याधिक मात्रामा चिसो वढेकाले विद्यालयमा आउने विद्यार्थीहरु निकै घटेका छन् । विद्यालयमा आउने वालवालिकाहरु पनि दिउँसो टिफीन पछि कक्षा कोठा छोड्दै भाग्ने गर्दा समयमा नै विद्यालय बन्दगर्ने गरिएको शिक्षक देवकोटाले वताए ।
अत्याधिक मात्रामा चिसो वढेसँगै विद्यालयमा अध्ययनरत वालवालिकाहरु विद्यालय भवनभित्र बस्दा हात कामेर पेन समाउन नसक्ने, चिसोका कारण साना वालवालिकाहरु काम्न थालेपछि गोकुलगंगा गाउँपालिका वडा नं–३ रस्नालुमा रहेको पूर्ण आधारभूत प्राथमिक विद्यालयले घाम लाग्ने ठाउँमा खुल्ला चउरमा राखेर वालवालिकाहरुलाई पढाउने काम गरिएको सो विद्यालयकी शिक्षिका बालकुमार थापाले जानकारी दिइन् ।
उनले भनिन्– चिसो वढेकाले साना कलिला वालवालिकाहरु भवनभित्र पस्नै मान्दैनन् । त्यसैले उनीहरुलाई बाहिर घाममा राखेर पढाउने गरेका छौं । छोटा दिनभएकाले घाम डुव्दै जाँदा चिसो वढ्दै जाने भएकाले विद्यालय समयसम्म पढाउन समस्या भएको छ । दिउँसो चिसो वढेपछि हामीले विद्यालय समय भन्दा अगाढी नै विद्यालय वन्द गर्ने गरेका छौं शिक्षिका थापाले भनिन् ।
अत्याधिक मात्रामा चिसो वढेकाले चिसोवाट जोगिन चिकित्सकहरुले सुझाव दिएका छन् । चिसोका कारण टन्सिल हुने, हृदयघात हुने, स्वास्थप्रश्वासमा समस्या हुने, टाउँको दुख्ने, निमोनिया हुने, आँखावाट आँशु बग्ने जस्ता धेरै समस्याहुने भएकाले चिसोको समयमा घरबाहिर हिडडुल नगर्न चिकित्सकहरुले सल्लाह दिएका छन् । यदी घरवाहिर निस्कनै पर्ने भएमा तातो न्यानो कपडा लगाएर मात्रै वाहिर निस्कदा राम्रो हुने तामाकोशी अस्पतालका डा.केशब धामीले जानकारी दिए ।