रामेछाप । दिपशिखा व्याईज युनाईटेड क्लबको आयोजनामा विजया दशमी तथा दिपावलीको अवसर पारेर दोश्रो रामेछाप कप खुल्ला पुरुष फुटवल प्रतियोगिता शुरु हुने भएको छ । शनिबार क्लबले पत्रकार सम्मेलन गरी जिल्लाको सर्वाधिक पुरस्कार राशिको दोश्रो रामेछाप कप खुल्ला पुरुष फुटवल असोज १० गते देखी १५ गते सम्म हुने र प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
दिपशिखा व्याईज युनाईटेड क्लब द्वारा आयोजना हुने उक्त प्रतियोगितामा प्रथम हुने टोलीले ३ लाख ३ हजार नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छ । प्रतियोगितामा द्धितिय हुने टिमलाई २ लाख २ हजार, तृतिय हुने टिमलाई १ लाख १ हजार सान्त्वना स्थानमा रहनेलाई २५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । यस बाहेक उत्कष्ठ खेलाडि लगाएतलाई बेग्लै पुरस्कारको व्यवस्था क्लवले गरेको छ ।
क्लबको आफ्नै फुटबल मैदान करमबोटमा आयोजना हुने उक्त प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेना र बाह्य जिल्ला सहित १५ टिमको सहभागिता रहने क्लबका अध्यक्ष आशिष कार्कीले जनाएका छन् ।
नक आउट आधारमा संचालन हुने प्रतियोगितामा अधिकांश टिमले बाह्य जिल्ला र विदेशी खेलाडि समेत समावेश गराएका छन् । प्रतियोगिताको लागि टाइसिट निर्माण लगाएतका सम्पूर्ण तयारी पुरा भएको क्लबले शनिबार मन्थलीमा आयोजना भएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
प्रतियोगिता संचालनका लागि २७ लाख ५६ हजार खर्च लाग्ने अनुमान आयोजक क्लबले गरेको छ । त्यसका लागि अधिकांश रकम जुटिसकेको क्लवले जनाएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।