रामेछाप । नागरिकहरुको सुरक्षामा अहोरात्र खट्ने नेपाल प्रहरीलाई अपराध अनुसन्धानको क्षेत्रमा अझै दक्ष र सशक्त वनाउनको लागि आफु लागि परेको प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले बताएका छन् ।
सो कुरा उनले आइतवार जिल्ला प्रहरी कार्यालय रामेछापको भुकम्पपछि नवनिर्मित कार्यालय भवन तथा व्यारेक भवनहरुको समुद्घाटन कार्यक्रममा बताएका हुन् । भवन उद्घाटन कार्यक्रममा बोल्दै महानिरीक्षक थापाले प्रहरीले प्रदान गर्दै आएको सुरक्षा, अपराध र अनुसन्धान नियन्त्रणका क्षेत्रमा सेवा प्रबाह थप प्रभावकारी बनाउँदै लैजाने वताए ।
उनले आम नागरिकहरुको माया र विश्वास पाउने नेपाल प्रहरी मात्रै भएकाले प्रहरीले पनि त्यहिँ अनुसार नागरिकहरुको सेवामा खटिनु पर्ने बताए । नागरिकहरुको सुरक्षामा २४ घण्टा खटिने प्रहरीलाई यस्ता नयाँ भवनले उनीहरुमा थप उर्जा मिल्ने भन्दै नागरिकले प्रहरीलाई गर्नुभएको सहयोेगवाट ठूलाठूला अपराधिक घटनाहरु सहजै पत्ता लगाउँन सहजता मिलेकाले प्रहरी नागरिकहरु प्रति सधै ऋणी भएको पनि महानिरीक्षक थापाले बताए ।
कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले जति धेरै सुरक्षा निकाय बलियो र मजवुद हुन्छ त्यहिँ अनुसार मुलुक पनि बलियो हुने भन्दै सुरक्षा निकायका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारहरु निमार्ण गर्न मन्थली नगरपालिका सधै सकारात्मक रहेको बताए । उनले भने– सुरक्षा निकायलाई समस्या परेको बखत मन्थली नगरपालिका सधै सहयोग गर्न कटिबद्ध रहेको छ ।
त्यसैगरी सोही कार्यक्रममा रामेछापका निमित्त सहायक प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले जिल्ला प्रहरी कार्यालय रामेछापमा निमार्ण भएको नवर्निमित भवनले प्रहरीमा काम गर्ने थप उर्जा मिलेको बताए । उनले जिल्लाका विभिन्न प्रहरी चौकीहरुको अवस्था दयनिय भएकाले त्यसतर्फ पनि ध्यान दिन र आगामी वर्ष भवन निमार्णको प्रक्रिया अघि वढाउन आग्रह गरे ।
जिल्ला प्रहरी कार्यालयको परिसर भित्र रहेको २० रोपनी २ आना १ पैसा जग्गामा निमार्ण भएको २४ कोठे सुविधा सम्पन्न भवनको निमार्ण कार्य सम्पन्न भएसँगै उक्त भवन उद्घाटन भएको हो । भवन निमार्णको लागि प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयको ७ करोड ७६ लाख ६२ हजार ३ सय २४ रुपैयाँको लागत अनुमानित रकम भनेता पनि ६ करोड ५८ लाख ४१ हजार ४ सय ४ रुपैयाँ २१ पैसामा २०७७ पुस १ गते भवन निमार्णको काम सम्पन्न गर्ने गरि सुनकोशी कन्ट्रक्सन प्रालि काठमाण्डौले कामको जिम्मेवारी पाएको थियो ।
नवर्निमित सुविधा सम्पन्न साढे दुईतले भवनमा चारवटा हिरासत कक्ष, अन्वेशन योजना शाखा, उजुरी छानविन शाखा, कार्यविशेष अपराध अनुसन्धान शाखा, महिला तथा बालबालिका जेष्ठ नागरिक सेवा केन्द्र, सिसी टिभी कन्ट्रोल कक्ष, कर्मचारी सामान्य प्रशासन शाखा, गार्डरुम रहेका छन् । त्यस्तै कार्यालय प्रमुख कक्ष संञ्चार शाखा, सबुत संकलन केन्द्र, आर्थिक प्रशासन शाखा लगाएतका शाखाहरु रहेका छन् ।