काठमाण्डौं । अमेरिका र चीनबीच शनिबार स्विट्जरल्याण्डमा व्यापार वार्ता हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग वार्ता अघि बढाउन सुरूमै उच्च भन्सार महसुल नघटाउने बताएका छन् ।
अमेरिकी अर्थ (ट्रेजरी) मन्त्री स्कट बेसेन्टले चिनियाँ उपप्रधानमन्त्री हि लिफेङसँग स्विट्जरल्याण्डमा शनिबार व्यापार वार्ता गर्दैछन् । त्यस्तै चीनसँग वार्ता गर्न अमेरिकाले पहल नगरेको दाबी पनि उनले गरेका छन् । अमेरिकाले वार्ताको लागि पहल गरेको दाबी गर्नेलाई उनले ’फिर्ता गएर आफ्ना फाइलहरूको अध्ययन गर्नू’ भनेर सुझाव दिएका छन् । केही दिनअघि उनले चीनमाथि लगाएको उच्च भन्सार महसुल घटाउने भनेका थिए ।
चीनमाथिको आफूले लगाएको भन्सार महसुल विश्वका दुई ठूला अर्थतन्त्रहरूबीच व्यापार नै नहुने गरी उच्च भएको स्वीकार गर्दै ट्रम्पले यसलाई केही समयपछि घटाउने बताएका थिए । तर उनको पछिल्लो अभिव्यक्तिले भने उनले सुरूमै भन्सार महसुल नघटाएर दुई देशबीच सहमति भएपछि मात्रै घटाउने सोचेका छन् भन्ने बुझिन्छ ।