रामेछाप । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले अनुगमन नगर्दा जिल्लामा अबैद्य रुपमा औषधीपसलहरु खोल्ने क्रम बढेपछि ती औषधी पसललाई जिल्ला प्रशासन कार्यालयले कानुनी दायरामा ल्याउने भएको छ ।
स्वास्थ्य कार्यालयले अबैद्य रुपमा स्वास्थ्य किल्नीक र औषधीपसल खोल्न नपाउने भनेता पनि कार्यालयको प्रभावकारी अनुगमन नहुदा गाउँगाउँमा अबैद्य रुपमा क्लिनीक र औषधी पसल खोल्नेहरुको लहर नै चलेको छ । स्वास्थ्य कार्यालय माताहतका केही कर्मचारीहरुले समेत गाउँगाउँमा अबैद्य रुपमा औषधी पसलहरु समेत सञ्चालन गर्ने गुनासो प्रशासन कार्यालयमा आएपछि जिल्लाभरको औषधी पसल र क्लिनिकको अनुगमन गरिने भएको हो ।
यसरी अबैद्यरुपमा जिल्लाको उमाकुण्ड गाउँपालिकाको गुम्देल, वाम्ती, प्रिती, कुबुकास्थली लगाएतका स्थानहरुमा खोलिएका छन् । त्यस्तै गोकुलगंगा गाउँपालिकाको चुचुरे, ठोसे, रस्नालु, बेताली, नामाडी फर्पुमा समेत औषधी पसलहरु संञ्चालनमा आएका छन् । यसबाहेक लिखु तामाकोशी गाउँपालिकाको केन्द्र धोवीवजार, विजुलीकोट, नागदह, तिल्पुङ लगाएतका स्थानमा पनि औषधी पसल सञ्चालनमा रहेका छन् ।
यसैगरी दोरम्वा गाउँपालिकाको गौश्वारा, टोकरपुर, लखनपुर क्षेत्रमा पनि अबैद्य रुपमा औषधी पसल सञ्चालनमा आएका छन् । यी बाहेक अन्य गाउँपालिकाका अधिकासं वडाहरुमा अबैद्य किसिमले औषधी पसल र क्लिनीक सञ्चालनमा रहेका छन् । जिल्लामा यति धेरै स्थानमा अबैद्य रुपमा औषधी पसल र क्लिनिकहरु संञ्चालन हुँदा समेत जिल्ला स्वास्थ्य कार्यालयले प्रभावकारी अनुगमन गर्न नसक्दा झन् समस्या बढ्दै गएको उपभोक्ता मञ्च रामेछापका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।
उनले भने– औषधी पसल सञ्चालन गर्दा कानुन अनुसार दर्ता हुनुपर्छ । औषधी बिक्रेताले अनिवार्य रुपमा फार्मेसी अध्ययन गरेको हुनुपर्छ । तर अहिले गाउँमा खोलिएका अधिकासं औषधी पसलहरुले कानुन पालना गरेका छैनन् । कानुन पालना नगर्नेलाई प्रशासन र स्वास्थ्य कार्यालयले अनिवार्य रुपमा कानुनी दायरामा ल्याउनु पर्छ अध्यक्ष शर्माले बताए ।
जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी अहिलेसम्म मन्थली र रामेछाप बजार भन्दा टाढा अनुगमनमा निस्किएको देखिएको छैन् । जिल्लामा हालसम्म ५ वटा मात्रै अस्पताल र औषधी पसलको अनुगमन गरिएको अभिलेख कार्यालयमा भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका डा.जितेन्द्र कर्णले जानकारी दिए ।
उनले भने– जिल्लामा अहिलेसम्म कतिवटा अबैद्य औषधी पसल र क्लिनिकहरु संचालन छन् भन्ने अभिलेख कार्यालयमा छैन् । स्थानिय तहमा कार्यरत स्वास्थ्यकर्मीहरुसँग अभिलेख माग गर्दा समेत उनीहरुले उपलव्ध नगराएको कारण समस्या रहेको छ । अर्कोतिर कार्यालयमा प्रयाप्त बजेट र जनशक्तिको अभाव हुँदा समेत अनुगमन गर्न नसकिएको डा.कर्ण बताउँछन् ।
यसरी गाउँमा अबैद्य रुपमा खोलिएका औषधी पसल र क्लिनिकमा उपचार लिन गएका नागरिकहरुको अकालमा ज्यानै जानसक्ने सम्वेदशिलतालाई ध्यान दिदै जिल्ला प्रशासन कार्यालय रामेछापले तत्काल अनुगमन गरी कानुन अनुसार आवश्यक कारवाहीको प्रक्रिया अघि वढाइने रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले जानकारी दिए ।
औषधी पसलमा औषधी विक्री गर्ने व्यक्तिले अनिवार्य रुपमा फार्मेसी अध्ययन गरि औषधी व्यवस्थापन बिभागवाट सर्टिफिकेट लिनु पर्ने कानुनी वाध्यता रहेको छ । जिल्लाका ग्रामिण भेगमा खोलिएका अधिकासं औषधी पसलहरुमा फार्मेसी अध्ययन गरेको व्यक्ति भेटिदैनन् । औषधी पसलमा बस्ने जो कोहीले औषधी बिक्री वितरण गर्दै आएका छन् ।