रामेछाप । जिल्लामा कोरोनाका संक्रिय संक्रमितहरुको संख्या नघटेको भन्दै जिल्लाभर निषेधाज्ञा जारी गरेका रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु आफैले गरेको निर्णयलाई खिल्ली उडाउँदै विभिन्न सार्वजनिक कार्यक्रममा आफै सरिक हुँदै आएका छन् ।
जिल्लामा ठूलो संख्यामा हुने भेला, सम्मेलन लगाएतका कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्वंय ती कार्यक्रमहरुमा सहभागी हुदै आएका छन् । उनले जिल्लामा निषेधाज्ञा सर्वसाधारण नागरिकहरुको लागि लगाइदिने आफु भने जिल्लामा हुने राजनितिक सभासम्मेलन लगाएतका सार्वजनिक कार्यक्रममा नेताहरुको चाकडी र चाप्लुसीका लागि पुग्ने गरेको छन् ।
प्रमुख जिल्ला अधिकारी सैजुकै अध्यक्षतामा जिल्ला स्तरिय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको साउन १६ गते बसेको बैठकले जिल्लाभर कोरोना संक्रमण हुने दर बढिरहेको भन्दै खुल्ला स्थानमा मानिसहरु भेला हुने, भिडभाड गर्न नपाइने, सभा जुलुस गर्न नपाइने, महोत्सव र भोजभतेर लगाएतका कार्यहरु गर्न पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको थियो ।
प्रजिअ सैजुले गरेको उक्त निर्णयको मसि सुक्न नपाउँदै वुधवार र विहिवार जिल्लामा भएका दुई सार्वजनिक कार्यक्रममा सयौंको संख्यामा सहभागी भएका नागरिक माझ प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरिक्षक समेतको सहभागीता भएको थियो । वुधवार सित्खा गोगनपानी सडक उद्घाटन गर्न रामेछाप आएका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको कार्यक्रमलाई प्रजिअ सैजुले रोक्न भने सकेनन् बरु उल्टै उक्त कार्यक्रममा जिल्ला स्तरिय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका केही पदाधिकारी समेत लिएर कार्यक्रम स्थल पुगेका थिए ।
प्रजिअ सैजुले गरेको यो हर्कतलाई रामेछापका नागरिक समाज, आम संञ्चारकर्मी र राजनितिक दलका प्रतिनिधिहरुले समेत गम्भिर रुपमा लिएका छन् । प्रजिअ आफैले जिल्लाभर निषेधाज्ञा जारी गरेर सार्वजनिक कार्यक्रममा सहभागी हुनु गलत भएको नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले जानकारी दिए ।
उनले भने– जिल्लामा हुने गैरसरकारी र सरकारी कार्यक्रमहरुलाई पूर्णरुपमा रोक लगाउनुको सट्टा आफै ती कार्यक्रममा हिड्नु प्रमुख जिल्ला अधिकारीको गैरजिम्मेवारी पन हो । वुधवार र विहिवार रामेछापमा सयौंको संख्यामा सहभागीका बिच भएका दुईवटा सार्वजनिक रुपमा भएका सरकारी कार्यक्रम रोक लगाउनु पर्नेमा ती कार्यक्रममा प्रजिअ आफै सहभागी हुनु भनेको सरकारी तबरकै गम्भिर अपराध भएको अध्यक्ष नयाँघरेले बताए ।
प्रमुख जिल्ला अधिकारी सैजुले जिल्लामा गर्दै आएका पछिल्लो घटनाक्रमलाई नजिकवाट नियाल्दै आएका नागरिक समाजका अगुवा हिमाल ढुगेलले पनि सार्वजनिक कार्यक्रममा आफै सहभागी हुनु र विभिन्न राजनितिक दल र गैरसरकारी संघसंस्थाका कार्यक्रम गर्न दिनु गलत भएको जानकारी दिए ।
उनले भने– कोरोना संक्रमितको संख्या बढ्यो भन्दै प्रजिअ सैजु आफै निषेधाज्ञा गर्ने निर्णय गर्ने तर आफै सयौंको संख्यामा भएको सहभागीका बिच सार्वजनिक कार्यक्रममा उपस्थिती हुनु भनेको एकदमै गलत हो । प्रजिअ सैजुले मन्त्री आए भनेर सयौंको संख्यामा सहभागी जम्मा गराएर कार्यक्रम संञ्चालन गर्न दिने तर भोलीका दिनमा हुने अन्य कार्यक्रम गर्न दिने की नदिने यस बिषयमा समेत गम्भिर प्रश्न उब्जिएको नागरिक समाजका अगुवा ढुगेल बताउँछन् ।
बुधवार खाँडादेवी गाउँपालिकाको सित्खा–गोगनपानी सडक उद्घाटन र प्रदेशवाट अन्य तीनवटा सडक निमार्ण गर्न रकम दिएको भन्दै विहिवार मन्थलीको सामुदायिक हलमा भएको उक्त दुईवटा कार्यक्रममा बागमती प्रदेशका मुख्य मन्त्री सहित दर्जनौ मन्त्री रामेछापमा लामबद्ध भएर आएका थिए । उक्त कार्यक्रममा मास्क, सेनिटाइजर र सामाजिक दुरी भने प्रशासनको निर्णयमा मात्रै सिमित भएको देखिन्थ्यो ।
उक्त कार्यक्रममा सहभागी भएका नेकपा एमालेका नेताहरुले पनि कानेखुशी गर्दै यो कार्यक्रम नगर्दा राम्रो हुने भन्दै थिए । उनीहरुले कोरोनाको जोखिम कायम रहेको समयमा यस कार्यक्रमले झन जोखिम हुने बताउँदै बिषम परिस्थीतिमा यो कार्यक्रम गर्नु गलत भएको एक नेताले जानकारी दिए । उनले भने– मेरो नाम चाहीँ नछाप्नु होला । अहिलेको समयमा यो कार्यक्रम गर्नु गलत हो ।
कार्यक्रममा ५० वटा भन्दा वढी गाडी र करिव १ सय भन्दा बढी मोटरसाइकलमा सबार नागगरिकहरु उक्त कार्यक्रममा सहभागी भएका थिए । सो कार्यक्रम स्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुसँग प्रशासनले गरेको निषेधाज्ञा अनुसारका सहभागी थिए त ? भन्ने जिज्ञासा राख्दा उनले कुनै प्रतिउत्तर भने दिएनन् ।