रामेछाप । रामेछाप नगरपालिका वडा नम्बर ९ मा भएको आगलागी पीडितहरूलाई जस्तापाता वितरण गरेको छ । केही दिन अघि आगलागीबाट रामेछाप नगरपालिका–९ टारका १३ घर जलेर नष्ट भएको थियो । मन्थली नगरपालिकाले सोमबार बिहान पीडितको घरमा पुगेर जस्ता पाता सहयोग गरेको हो ।
मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठको नेतृत्वमा विपत् व्यवस्थापन समितिका संयोजक कृष्णगोपाल थापा लगायत कर्मचारी र सञ्चारकर्मीहरू हरूको टोलीले सोमबार बिहानै आगलागी प्रभावित बस्तीका पीडितहरूको दैलोमानमै पुगेर सहयोग स्वरूप जस्ता पात उपलब्ध गराएको हो । नगरपालिकाले पीडित परिवारलाई प्रति परिवार दुई बन्डलका दरले छाना छाउने जस्ता पाता उपलब्ध गराएको छ । राहत लिनका लागि भेला भएका पीडित परिवारहरूलाई जस्ता पाता प्रदान गर्दे नगरपालिका प्रवक्ता एवं वडा नं ८ का वडाध्यक्ष गोपाल श्रेष्ठले छिमेकी नगरपालिका भएको नाताले एकलाई पर्दा अर्को छिमेकीले सहयोग गर्नु मानवीय धर्म भएको र भाइचाराको नाताले मन्थली नगरपालिकाले सामान्य भए पनि सहयोग गरेको र आवश्यक परे थप सकेको सहयोग गर्न मन्थली नगरपालिका अझै तयार रहेको बताएका छन् ।
गत बिहीबार नजिकैको जङ्गलमा लागेको आगो गाउँमा पसेपछि गाउँका १३ घर सँगै १४ वटा गोठ जलेर नष्ट भएका थिए । आगलागीबाट धनमाल र पशु बस्तु क्षति भए पनि मानवीय क्षति भने हुन पाएन । आगलागीमा परी ६० भन्दा बढी बाख्रा दुई वटा भैँसी लगायतका पशु बस्तु समेत मरेका थिए । जिल्ला विपत् व्यवस्थापन समितिले ३० हजारका दरले र रामेछाप नगरपालिकाले प्रतिपरिवार १५ हजारका दरले नगद सहयोग गर्ने निर्णय गरेकोले उनीहरूलाई तत्कालका लागि निकै राहत भएको पनि वडा अध्यक्ष चन्द्र बहादुर श्रेष्ठले जानकारी गराए । उनले पछिल्लो समयमा खाद्यान्न, कपडा र अन्य सामाग्रीहरू जुट्न लागेका भए पनि पीडितहरूका लागि स्थायी आवास निर्माण गर्नु भने उनीहरू र वडाका लागि समेत मुख्य चुनौतीको विषय भएकोले यस तर्फ सबैको ध्यानाकर्षण पनि गराएका छन् ।