रामेछाप — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकारमा कुनै पनी समस्या नभएको बताएका छन् । रामेछापको सुनापति गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यो सरकारले शान्ति प्रक्रिया टुंगोमा पु¥याउनका साथै विकास निर्माणका कार्यलाई अग्रगतिमा लैजानका लागि वर्तमान गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् । प्रधानमन्त्री दहालले भने, ’सानो दुःख र प्रयासले गठबन्धन बनेको होइन, वर्तमान गठबन्धन कुनै पनि हालतमा टुट्दैन ।’
त्यस्तै प्रधानमन्त्री दाहालले एक वर्षको अवधिमा सरकारले आर्थिक, सामाजिक क्षेत्रमा उल्लेख गर्न लायक काम गरेको दाबी गरेका छन् । संविधान कार्यान्वयनका लागि सरकारले आवश्यक संघीय ऐन कानुन बनाएर प्रदेश र स्थानीय तहलाई अझ बलियो बनाउने बताएका छन्
साथै प्रधानमन्त्री दाहालले मध्यपहाडी लोकमार्गको बाँकी काम छिटै सम्पन्न गर्ने बताउदै रामेछापको विकासका लागि संघीय सरकारले सक्दो प्रयास गर्ने आश्वासन दिएका छन् ।
त्यस्तै नेपालले लामो समयको प्रतिक्षापछि विद्युत्को दीर्घकालीन व्यापारको लागि ढोका खुलेको प्रधानमन्त्री दाहालले बताएका छन् । भारतसँग बिहीबार मात्र नेपालबाट १० वर्षमा १० हजार मेघावाट विद्युत् व्यापारको सम्झौता भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सम्झौताले भारतमा मात्र नभई बंगलादेशमा विद्युत् व्यापारको समेत ढोका खुलेको बताए हुन् ।
प्रधानमन्त्री दाहालले बेथानलाई नेपालको परिवर्तनका लागि विरताको गाथा बोकेको स्थानको रुपमा चर्चा गरेका छन् । प्रधानमन्त्री दाहालले पुष्पलालको जन्मस्थान रामेछापको भंगेरी र बीपीको जन्मस्थान दुम्जामा राजनीतिक पर्यटन स्थलको रुपमा विकास गरिने पनि बताए ।
प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ, वाग्मती प्रदेशका सदस्य युवराज चौलागाई र आनन्दकुमार श्रेष्ठले रामेछापमा विकास निर्माणका कार्यक्रम संचालन गरिदिन प्रधानमन्त्री समक्ष ध्यानाकर्षण गराएका थिए । करिब ३ करोड ४८ लाख ५० हजार रुपैयाँ लागतमा निर्माण भएको गाउँपालिकाको सुविधासम्पन्न भवनमा १० कार्यालय कोठा र सभाहल रहेका छन् ।
प्रधानमन्त्री दाहालले बिहीबार नै सुनापतिको बेथानस्थित पानीघाटमा निर्मित सहिद पार्कमा २०५३ पुस १९ गते बेथान प्रहरी चौकी आक्रमणको क्रममा मारिएका ३ जना माओवादी कार्यकर्ताको सालिकमा माल्यार्पण गरेका थिए । माओवादीले पुस १९ लाई विरता दिवसको रुपमा मनाउँदै आएको छ ।









