मन्थली । निबन्धकार माधव काफ्ले जगदीश स्मृतिबाट सम्मानित भएका छन् । जगदीश स्मृतिले यस वर्ष निबन्धकार माधव काफ्लेलाई पुरस्कार प्रदान गरिएको हो । जगदीश घिमिरे प्रतिष्ठानले स्वर्गीय घिमिरेको १० औ स्मृति का अवसरमा शनिवार मन्थलीमा आयोजना गरिएको साहित्य सभाका अवसरमा निबन्धकार काफ्लेलाई नगद रु ५१ हजार र प्रशंसा पत्रले सम्मान गरिएको हो ।
प्रतिष्ठानकी अध्यक्ष दुर्गा घिमिरेको अध्यक्षता मा सम्पन्न कार्यक्रमका अवसरमा मन्थलीमा रहेको माझी समुदायका ज्येष्ठ नागरिकहरूलाई समेत सम्मान गरेको छ ।कार्यक्रमको उद्घाटन साहित्यकार एवं प्राध्यापक तुलसी दिवसले गरेका थिए । कार्यक्रमको अवसरमा साहित्यकार नगेन्द्र राज शर्मा, निबन्धकार माधव काफ्ले, कवि उषा शेरचन,साहित्यकार हरिकृष्ण काफ्ले,साहित्यकार मनोज न्यौपाने, अश्विनि कोइराला, निबन्ध आचार्य, भवानी सङ्ग्रौला, दीपक घिमिरे, डा मोहन प्रसाईँ डा रेणु प्रसाईँ, र स्थानीय स्तरका कवि तथा कवयित्रीहरूले रचना वाचन समेत गरेका थिए ।
समाजसेवी एवं साहित्यकारका रूपमा चिनिएका जगदीश घिमिरेको २०७० कार्तिक १४ गते ६८ वर्षको उमेरमा निधन भएको थियो । घिमिरेले प्रकाशन गरेको लिलाम, सावित्री, सकस, अन्तर मनको यात्रा लगाएका कृतिहरू मध्ये अन्तर मनको यात्राले मदन पुरस्कार समेत प्राप्त गरेका थिए । कार्यक्रममा रचना वाचन गर्ने अधिकांश साहित्यकारहरूले जगदीशको योगदानको चर्चा गरेका थिए । जगदीश घिमिरे प्रतिष्ठानले हरेक वर्ष पौष महिनामा मन्थलीमा साहित्यिक सम्मेलन गर्दै आइरहेको छ ।