काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य विनिता खड्काले राजनीतिक जीवनमा अनेकौँ चुनौती र आरोपको सामना गर्नुपरे पनि आफूले इमानदारी र निष्ठाको बाटो नछाडेको बताएकी छन् । उनले विगतका कठिन परिस्थितिबाट विचलित नभई अब जनताको आवाजलाई अझ सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि प्रमाणपत्र ग्रहण गर्दै खड्काले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन् । उनले प्राप्त जिम्मेवारीलाई व्यक्तिगत राजनीतिक उपलब्धिभन्दा पनि आफूलाई विश्वास गर्ने हजारौँ शुभेच्छुकको भरोसा र लामो संघर्षको सम्मानका रूपमा लिएको उल्लेख गरेकी छन् ।
आफूविरुद्ध उठेका आरोप र प्रतिकूल परिस्थितिले राजनीतिक आत्मविश्वास कमजोर बनाउन नसकेको उनको भनाइ छ । बरु कठिन समयले आफ्नो संकल्पलाई थप बलियो बनाएको उनले बताएकी छन् ।
‘आरोपले मेरो आत्मविश्वास तोड्न सकेन, कठिन समयले मेरो संकल्प कमजोर बनाउन सकेन । बरु म पहिलेभन्दा अझ दरिलो भएर उभिएकी छु,’ खड्काले लेखेकी छन् ।
उनले नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, पार्टीका सम्पूर्ण पदाधिकारी, महाधिवेशन प्रतिनिधि तथा कठिन परिस्थितिमा आफ्नो साथमा उभिएका शुभेच्छुकप्रति आभार व्यक्त गरेकी छन् । प्राप्त विश्वास र समर्थनलाई आगामी दिनमा अझ जिम्मेवार भएर काम गर्ने प्रेरणाका रूपमा लिएको उनको भनाइ छ ।
खड्काले विगतका पीडा र आरोपमा अल्झिएर बस्नुभन्दा पार्टीको संगठनात्मक सुदृढीकरण र लोकतान्त्रिक मूल्य तथा आदर्शको संरक्षणमा केन्द्रित हुने स्पष्ट पारेकी छन् । विशेषगरी युवा पुस्ताको आवाजलाई पार्टीभित्र स्थापित गर्दै जनताका समस्या, आवश्यकता र अपेक्षालाई राजनीतिक बहसको केन्द्रमा पु¥याउने उनको प्रतिबद्धता छ ।
उनले आफ्नो राजनीतिक यात्रा पद र प्रतिष्ठा प्राप्तिमा मात्र सीमित नरहेको उल्लेख गर्दै प्राप्त जिम्मेवारीलाई परिणाममुखी बनाउने बताएकी छन् ।
‘मेरो राजनीतिक यात्रा पद प्राप्तिका लागि मात्र होइन, जिम्मेवारी पूरा गर्नका लागि हो । मेरो आवाज अब अझ स्पष्ट हुनेछ, मेरो कदम अझ दृढ हुनेछ, देशप्रतिको मेरो प्रतिबद्धता अझ गहिरो हुनेछ,’ उनले भनेकी छन् ।
खड्काको पछिल्लो अभिव्यक्तिले राजनीतिक जीवनमा आएका चुनौती र आलोचनाका बीच पनि विचलित नभई पार्टीको आदर्श, संगठन निर्माण र जनताको पक्षमा काम गर्ने उनको अठोटलाई प्रस्ट पारेको छ ।










