रसुवा । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रबाट नेपाली सेनाले ४५ जना विदेशी नागरिकसहित ३३६ जनाको हवाई उद्धार गरेको छ । नेपाली सेनाका अनुसार बिहीबार बिहानदेखि १२ः३० बजेसम्म टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट हेलिकप्टरमार्फत ३३६ जनाको सफल उद्धार गरिएको हो । उद्धार गरिएका विदेशी नागरिकहरू ६ फरक देशका रहेको सेनाले जनाएको छ ।
बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ । विपद् प्रभावित क्षेत्रमा नेपाली सेनाका करिब ४ हजार जनशक्ति परिचालन गरिएको छ ।
परिचालित सैनिक जनशक्ति घाइते तथा प्रभावित नागरिकको खोज तथा उद्धार, आपत्कालीन उपचार र राहत सामग्री वितरणमा खटिएका छन् । बाढीका कारण जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा लैजाने कार्यलाई पनि प्राथमिकताका साथ अघि बढाइएको सेनाले जनाएको छ ।
विपद्को अवस्थामा नेपाली सेनाले नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय प्रशासन तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी उद्धार तथा राहत कार्य सञ्चालन गरिरहेको जनाएको छ । सेनाले प्रभावित क्षेत्रमा आवश्यकताअनुसार उद्धार, उपचार तथा राहत सामग्री वितरणलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ ।










