‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

२ असार २०८३, मंगलवार

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै बजेट प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारले कुल बजेटमध्ये ६५.६९ प्रतिशत पुँजीगततर्फ र ३४.३१ प्रतिशत चालुतर्फ विनियोजन गरेको जनाएको छ । बजेटमार्फत प्रदेशको आर्थिक वृद्धिदर ७.५ प्रतिशत पुर्‍याउने लक्ष्य लिइएको छ । प्रशासनिक पुनर्संरचनामार्फत चालु खर्चमा ११ प्रतिशत बचत हुने दाबी सरकारको छ ।

बजेटमा विपन्न नागरिकलाई लक्षित गर्दै ‘मुख्यमन्त्री विपन्न आवास कार्यक्रम’ सञ्चालन गरिने भएको छ । यस कार्यक्रममार्फत अति विपन्न एक हजार परिवारलाई सुरक्षित आवास निर्माण गरी वितरण गर्न २० करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र एकल महिलाको नाममा घरजग्गा रजिस्ट्रेसन गर्दा शुल्कमा छुट दिने व्यवस्था निरन्तरता दिइएको छ ।

युवालाई उद्यमशीलता र प्रविधिसँग जोड्न ‘मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम’ सञ्चालनका लागि २० करोड रुपैयाँ छुट्याइएको छ । वैदेशिक रोजगारीबाट फर्किएका तथा सीपयुक्त उद्यमीलाई व्यवसाय सञ्चालनका लागि ऋणको ब्याजमा अनुदान दिन थप २० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

खानेपानीतर्फ ‘एक घर एक धारा’ अभियानलाई तीव्रता दिँदै ८० प्रतिशत प्रगति भएका आयोजनाहरू सम्पन्न गर्न २ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । अन्य १८७ वटा खानेपानी आयोजनाका लागि १ अर्ब ७० करोड रुपैयाँ छुट्याइएको छ ।

कृषि क्षेत्रको विकासका लागि ‘एक वडा एक कृषि उत्पादन कार्यक्रम’ विस्तार गरिने भएको छ । दूध उत्पादनमा आत्मनिर्भर बन्न प्रोत्साहन अनुदान, दुग्ध चिस्यान केन्द्रको विद्युत् महसुलमा ५० प्रतिशत छुट तथा सार्वजनिक–निजी साझेदारीमा प्रांगारिक मल कारखाना स्थापना गर्ने योजना बजेटमा समेटिएको छ ।

स्वास्थ्य क्षेत्रमा प्रदेशका अस्पतालमा सीटी स्क्यान, एमआरआई र क्याथल्याब जस्ता आधुनिक उपकरण थपिने भएका छन् । क्यान्सर तथा मुटु रोगका बिरामीलाई उपचार सहुलियत कार्यक्रमलाई निरन्तरता दिइएको छ भने ‘एक विद्यालय एक नर्स’ कार्यक्रम पनि कायम राखिएको छ । शिक्षातर्फ स्मार्ट टिचिङ र शिक्षकका लागि एआईमा आधारित डिजिटल तालिम सञ्चालन गरिने भएको छ ।

पर्यटन प्रवर्द्धनका लागि प्रदेशका ६६ वटै निर्वाचन क्षेत्रमा पर्यटकीय पूर्वाधार विकास गरिने भएको छ । ‘बागमती प्रदेश पर्यटकीय सर्किट’ निर्माण गरी ऐतिहासिक तथा धार्मिक स्थलहरूलाई जोड्ने योजना सरकारले अघि सारेको छ ।

बजेटमा प्रशासनिक सुधारलाई पनि विशेष प्राथमिकता दिइएको छ । नागरिकका गुनासा ७ दिनभित्र समाधान गर्ने उद्देश्यसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘हेल्लो सीएम डेक्स’ स्थापना गरिने भएको छ । त्यस्तै अनलाइन प्रोजेक्ट मनिटरिङ सिस्टम, प्रदेश तथ्यांक प्रणाली, डिजिटल क्राइम ट्र्याकिङ तथा स्मार्ट चेकपोस्ट स्थापना गर्ने योजना पनि बजेटमा समावेश गरिएको छ ।

प्रदेश सरकारले कर्मचारीको तलब, महँगी भत्ता र प्रोत्साहन भत्ता वृद्धि गर्ने घोषणा गरेको छ । साथै दीर्घकालीन पेन्सन व्यवस्थापनका लागि योगदानमा आधारित निवृत्तिभरण कोष स्थापना गर्ने प्रस्ताव बजेटमा गरिएको छ ।

सडक पूर्वाधारतर्फ रणनीतिक महत्वका सडक योजनाका लागि ७ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको छ भने विभिन्न सडक खण्डमा पुल निर्माणका लागि २ अर्ब ५३ करोड रुपैयाँ छुट्याइएको छ । भीमफेदी–कुलेखानी सुरुङमार्ग र उपत्यकामा मेट्रो रेल सञ्चालनको सम्भाव्यता अध्ययनका लागि पनि बजेट व्यवस्था गरिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

बाँदर धपाउने क्रममा लडेर किसान घाइते, उपद्रो बढ्दा गाउँले चिन्तित

बाँदर धपाउने क्रममा लडेर किसान घाइते, उपद्रो बढ्दा गाउँले चिन्तित

रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा सोमबार बिहान खेतबारीमा आएको बाँदर धपाउने क्रममा लडेर स्थानीय किसान ठेटबहादुर ढुङ्गेल गम्भीर घाइते हुनुभएको छ। उहाँलाई मन्थली अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको छ। चिसापानी र...