रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा सोमबार बिहान खेतबारीमा आएको बाँदर धपाउने क्रममा लडेर स्थानीय किसान ठेटबहादुर ढुङ्गेल गम्भीर घाइते हुनुभएको छ। उहाँलाई मन्थली अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको छ।
चिसापानी र पुरानागाउँ लगायतका क्षेत्रमा जङ्गल विस्तार र मानव बस्ती पातलिँदै जाँदा बाँदरको उपद्रो अत्यधिक बढेको छ। बाँदरले बालीनाली सखाप पारेपछि चिन्तित बनेका स्थानीयले वडा कार्यालयको समन्वयमा समिति गठन गरी प्रतिबाँदर समात्नेलाई एक हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरे पनि समस्या समाधान हुन सकेको छैन। बाँदरको यही बढ्दो आतङ्कका कारण पछिल्लो समय ग्रामीण भेगबाट खेतीपाती छाडेर किसानहरू विस्थापित हुने क्रम समेत बढेको छ।









