नेपालका चर्चित गायक तथा संगीतकार आशिष अविरलमाथि अमेरिकाको बाल्टिमोरमा नेपाली समयअनुसार शनिबार राति (स्थानीय समय) निर्घात कुटपिट भएको छ। कामको सिलसिलामा उत्पन्न सामान्य विवाद उत्कर्षमा पुग्दा दुई स्थानीय व्यक्तिले उनीमाथि आक्रमण गरेका हुन्।
आक्रमणबाट संगीतकार अविरलको नाक तथा आँखामुनिको हड्डी भाँचिएको छ भने आँखामा समेत गम्भीर चोट लागेको छ। चोटपटक लागेलगत्तै उनलाई बाल्टिमोरस्थित ट्रमा सेन्टर भर्ना गरी शल्यक्रिया गरिएको उनकी श्रीमती एवं गायिका सुशीला पाठकले जानकारी दिइन्। अस्पतालबाट आइतबार बिहान डिस्चार्ज भएका अविरललाई चिकित्सकले केही साता पूर्ण रूपमा घरमै आराम गर्न सल्लाह दिएका छन्। थप स्वास्थ्य परीक्षणका क्रममा नाकको हड्डी बांगो देखिएकाले आगामी दिनमा उनको ‘राइनोप्लास्टी’ शल्यक्रिया समेत गर्नुपर्ने हुनसक्ने चिकित्सकहरूले बताएका छन्।
नेपाली सुगम संगीत र लोकदोहोरी क्षेत्रमा स्थापित संगीतकर्मी अविरल केही महिनाअघि पुत्रलाभ भएपछि नेपाल आएका थिए। उनी केही साताअघि मात्रै कामको सिलसिलामा पुनः अमेरिका फर्किएका हुन्। घटनामा संलग्नहरूको खोजी तथा कानुनी प्रक्रियाबारे स्थानीय प्रशासनले अनुसन्धान गरिरहेको बुझिएको छ।









