दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई टेलिफोनमार्फत धम्की दिएको अभियोगमा सुर्खेतका एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सुर्खेत वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक स्थायी घर भई हाल काठमाडौँको शङ्खमूल बस्ने २२ वर्षीय प्रकाश खड्कालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका खड्कालाई हिरासतमा राखी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गर्दै खड्काले वडा सचिव भण्डारीलाई धम्क्याएको अडियो संवाद केही दिनदेखि सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । उक्त अडियो भाइरल भएलगत्तै प्रधानमन्त्री कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन सुरक्षा तथा अनुसन्धान निकायलाई निर्देशन दिएको थियो । सोही निर्देशनका आधारमा सक्रिय भएको काठमाडौँ प्रहरीले खड्कालाई शङ्खमूलबाटै नियन्त्रणमा लिन सफल भएको हो ।









