माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए प्राप्त गर्दै जिल्लाकै शिर उच्च पारेका हुन्।
शिक्षा विकास तथा समन्वय इकाइ दोलखाका प्रमुख भरत बहादुर भट्टराईका अनुसार जिल्लाका नौवटै स्थानीय तहका सामुदायिक विद्यालयहरूमध्ये ४ जीपीए ल्याउने विद्यार्थी यी दुई जना मात्र हुन्।
(एसईई) २०८२ परीक्षामा दोलखा जिल्लाबाट समग्रमा ६६.२९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। समन्वय इकाइको तथ्याङ्क अनुसार ३.६ देखि ४.० जीपीए प्राप्त गर्ने १०२ जना रहेका छन् भने ३.२ देखि ३.६ सम्म ३१९ जना, २.८ देखि ३.२ सम्म ५२३ जना, २.४ देखि २.८ सम्म ३२४ जना र २.० देखि २.४ सम्म ३२ जना विद्यार्थी उत्तीर्ण भएका छन्।
जिल्लाभरबाट जम्मा १ हजार ३ सय जना विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन् भने ६ सय ६१ जना विद्यार्थीको नतिजा नन्ग्रेडेड (एनजी) आएको छ। गत वर्षको तुलनामा जिल्लाको नतिजा सन्तोषजनक रहेको र उत्कृष्ट नतिजा ल्याउने विद्यालय तथा विद्यार्थीहरूलाई स्थानीय तहले समेत प्रोत्साहन गर्ने तयारी गरेका छन्।









